अवैध सुनसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कास्कीमा सुनको ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको संयुक्त प्रहरी टोलीले माघ १ गते पोखरा महानगरपालिका–३० पावरहाउसस्थित पृथ्वी राजमार्गको सडकखण्डामा पक्राउ गरेको हो ।
सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाडौबाट पोखरातर्फ आउँदै गरेको बसरमा सवार बाग्लुङ नगरपालिका–७ का २० वर्षिय अम्मर विश्वकर्माको साथबाट अबैध सुनको सिक्री ३ थान तौल गर्दा २० तोला ४३ लाल ८ प्वाईन्ट (२३८।४४ ग्राम) फेला पारेको कास्की प्रहरीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।
यस्तै, माघ ३ गते सोही स्थानमा काठमार्डाैबाट पोखरातर्फ आउँदै गरेको माईक्रो बसमा सवार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ का २९ वर्षिय अंकित सुनार पक्राउ परेका छन । सुनारको साथबाट अवैध सुनका गरगहना (सिक्री ५ थान, औँठी १ थान र रिङ १ जोर) तत्कालतौल गर्दा २१ तोला ९० लाल ३ प्वाईन्ट (२५५।४७ ग्राम) सहित फेला पारेकोले बरामद गरी निजहरूलाई पक्राउ गरी अनुसन्धानको लागी मंगलबार राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको डीएसपी तिवारीले बताए ।
