पर्यटकीय शहर पोखरामा सवारी साधन पार्किङ गर्ने निश्चित ठाउँ नहुदाँ सडकमा गरिने अव्यवस्थित पार्किङले बढी दुर्घटना निम्त्याएको बताइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा बुझाइएको सडक पूर्वाधार सुधार तथा दुर्घटना न्युनिकरण अध्ययन प्रतिवेदन, २०७८ ले साँघुरा सडकमा जथाभावी दोहोरो पार्किङ नै दुर्घटनाको प्रमुख कारण रहेको बताएको छ ।
प्रतिवेदनले नेपालमा सडक दुर्घटना एउटा भयंकर रोगको रुपमा रहेको बताएको छ । बार्षिक २५ सयले सडक दुर्घटनाकै कारण ज्यान गुमाउने प्रतिवेदनमा उल्लेख गरिएको छ । ‘पोखरामा ट्राफिक जाम बढ्दो छ’ कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले भने, ‘साना समस्याले पनि ठूला घटना निम्त्याएको छ । हामीले सानातिना समस्या समाधान गर्न सके ठूला घटना हुनबाट जोगिन्छ ।’ उनले कास्कीका सडकको अवस्था के छ ? कसरी समस्या समाधान गर्न सकिन्छ, भनेर अध्ययन समिति निर्माण गरिएको बताए ।
प्रतिवेदनका अनुसार शहरी र ग्रामीणका सडकलाई विभाजन गरि अध्ययन गरिएको छ । गत असोज २५ मा घान्द्रकमा भएको सडक दुर्घटनामा ८ जनाले ज्यान गुमाएका थिए । ‘दुर्घटनाको कारण खोज्दा सडक व्यवस्थित नभएको देखियो’ प्रजिअ आचार्य भन्छन, ‘सडकमा व्यारियर मात्रै भएको भए जीप दुर्घटना हुनबाट जोगिन्थ्यो ।’ उनले कतिपय चालककै लापारबाहीले सडक दुर्घटना भएपनि अधिकाशं दुर्घटना सडककै कारण हुने गरेको बताए । उनले सडकको स्वामित्वबारे एकिन नहुदाँ पनि जीर्ण सडकको मर्मत नहुने गरेको बताएका छन् । ‘सडकको ट्राक खोलिएको छ, तर, यो सडक स्थानीय, प्रदेश, संघ कुन सरकार अन्तगर्त हो भन्ने खुल्दैन । खाल्डाखुल्डी पुर्न परे या साना काम गर्न परे स्थानीयले कसलाई सम्पर्क गर्ने ? यो समस्याले पनि सडक मर्मत भएका छैनन् ।’ यसो त, एउटा निकायले सडक मर्मत गरे अर्को निकायले भत्काउने समस्या पनि उत्तिकै रहेको उनको भनाई छ । ‘पूर्वाधार निर्माणमा एक आपसमा समन्वय नै छैन’ उनले थपे ।
उनले विनायोजना निर्माण गरिएका पूर्वाधारले झन् समस्या निम्त्याएको बताएका छन् । ‘सडकको पीच सम्पन्न हुन नपाउदै खानेपानी र ढल व्यवस्थापन भन्दै जायीकाले सडक खनेर विगारेको छ’ उनले दोहोराए, ‘यो समस्या अन्त्यको लागि सडकको अवस्थाबारे अध्ययन गरेका हौ । हामी सम्बन्धीत निकायसंग बसेर कार्यान्वयन गर्नेछौ ।’ प्रतिवेदनले योजनाको स्रोत सुनिश्चित नगरि निर्माण थाल्दा सडकका योजना अलपत्र गरेको औल्याएको छ । सामान्य खाल्डा पुर्न सम्बन्धित निकायको चासो पुग्दैन । सडक सुरक्षाको पाटो सुनिश्चित गर्न सडकको अध्ययन गरिएको अध्ययन समितिका संयोजक सिभिल डिभिजनल इन्जिनियर डा महेन्द्र बानियाँले बताए । उनले सडकमा ट्राफिक चिन्ह पनि नभएको, जेव्रा क्रसिङ नजिक–नजिक राखिएको, सडक बनाइए पनि सडक व्यारिएर नराखिएको, रातको समयालाई ख्याल गर्दै लाइटको व्यवस्था नगरिएको जस्ता समस्या बढी देखिएको बताएका छन् । प्रतिवेदनले बजेटको सुनिश्चित गरि बढी भिडभाड हुने स्थानमा पनि व्यारियर राख्न सुझाव दिएको छ । खानेपानी चुवावट, सडक छेउछाउका रुख र सडकसँगै जोडिएका पेट्रोल पम्प पनि दुर्घटनाका कारण रहेकाछन् ।
राजमार्गसंग जोडिने शाखा मार्गमा सिसि टीभि, सडक बत्ति जडान गर्न, सराङकोट जान एकतर्फी सडकको प्रयोग गर्ने, सडकमा राखिएका विद्युत र टेलिकम, केबुलका पोलतार हटाउन प्रतिवेदनले सुझाव दिएको छ । प्रतिवेदनले छोरेपाटन, मालेपाटन, पृथ्वीचोक, विन्ध्याबासिनी मन्दिर आसपास, नदीपुर देखी बगरसम्म र सराङकोट तथा मेथलाङ जाने सडक, हल्लनचोकदेखी पामे जाने सडक बढी जोखिम रहेको जनाएको छ । केआइसिं पुलदेखी दिपचोकसम्मको सडक जीर्ण रहेको जनाइएको छ । पृथ्वीचोकको आईल्याण्ड स्थानान्तरण गर्न, सिर्जनाचोकमा नगर बसस्टप केहि पर स्थानान्तरण गर्न, पृथ्वीचोकदेखि चाईना पुलसम्म सडक खण्डमा बिलभ डिभिडर राख्न र पृथ्वीचोकमा ट्राफिक चिन्ह तत्काल जडान गर्न सुझाएको छ । प्रतिवेदनले पोखराको बसपार्कलाई पनि सुधार गर्न भनेको छ ।
