आइतबार सार्वजानिक विदा दिने सरकारको निर्णय खारेज भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको हो । उक्त निर्णय आगामी असार १ गतेदेखि लागू हुनेछ ।
वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन खपत कम गर्न भन्दै हप्तामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णय जेठ १ गतेदेखि कार्यान्वयनमा आएको थियो । तर, हप्तामा दुई दिन विदा दिनु गलत निर्णय भएको भन्दै चौतर्फि विरोध भएको थियो । स्थानीय तहले पनि सरकारको निर्णयउपर आइतबार सार्वजानिक विदा नदिने निर्णय गरेको थियो । यसैबीच हप्तामा दुई दिन बिदा दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पनि परेको छ । अधिवक्ता रामबहादुर शाही, तेजकुमार लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले आवश्यक तयारीबिनै हप्तामा २ दिन बिदा दिने निर्णय गरेकाले उक्त निर्णय रोक्न माग गर्दै रिट दायर गरेका थिए ।