आजबाट सुरू भएकाे एसईई परीक्षामा ५ लाख विधार्थी सहभागी भएका छन् । शुक्रबारदेखि सुरू भएकाे परीक्षामा ५ लाख १६ हजार ५ सय ९१ विधार्थीले कक्षा १० काे रजिष्ट्रेसन फारम बुझाएकाे राष्ट्रिय परीक्षा बाेर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएकाे छ ।
देशभर २ हजार ३७ परीक्षा केन्द्रमा परीक्षा भइरहेकाे छ । ७ हजार २ सय ६५ सामुदायिक र ४ हजार ५ सय ६४ निजी गरी ११ हजार ४ सय २९ विद्यालयका विद्यार्थी एसईईमा सम्मिलित हुँदै छन् । परीक्षा बिहान ८ बजेदेखि सञ्चालन भएकाे बोर्डले जनाएको छ ।
५५ जना दृष्टिविहीन विद्यार्थीले यसपालि एसईई दिँदै छन् । यसअघि दृष्टिविहीन विद्यार्थी पनि अभिभावकको सहारामा परीक्षा केन्द्रसम्म पुग्नुपर्ने बाध्यता थियो । त्यस्तै प्राविधिक धारतर्फ साढे १५ हजार विद्यार्थीले यस पटकदेखि घरपायक परीक्षा केन्द्रबाट परीक्षा दिँदै छन् ।
जापानमा पनि एउटा परीक्षा केन्द्र तोकिएकाे बाेर्डले जनाएकाे छ । जापानको राजधानी टोकियोस्थित केन्द्रबाट १४ जना विद्यार्थीले एसईई दिनेछन् । बोर्डका अनुसार नेपाली पाठ्यक्रम अध्यापन हुने जापानका विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् ।