आत्महत्या रोक्ने मुख्य उपाए सचेतना हो : मुख्यमन्त्री पाण्डे

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आत्महत्या रोकथामको मुख्य उपाए सचेतना भएको बताएका छन् । ‘एउटै, यही कारणले मानिसले आत्महत्या गरिरहेका छन् भन्ने यकिन छैन, त्यसभित्र बिभिन्न कारण छन्’ आत्महत्या रोकथामका लागि नीति निर्माता तथा सरोकारवालावीच सोमवार भएको छलफल कार्यक्रममा मुख्यमन्त्री पाण्डेले भने ‘आत्महत्या न्यूनिकरण र निरुत्साहित गर्ने मुख्य काम सचेतनले गर्छ ।’
गण्डकी प्रदेशभित्र दैनिक २ देखि ३ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्क छ । आत्महत्या एउटा मानसिक रोग भएको बताउँदै मुख्यमन्त्री पाण्डेले भने ‘आत्महत्या कम गर्न, मानिसलाई यसतर्फ निरुत्साहित गर्न उपचार गराउने भने सचेतना जगाउने हो ।’ आत्महत्या न्यूनिकरणको क्षेत्रमा काम गर्ने संघ संस्थासँगको सहकार्यमा यसको रोकथाम र निरुत्साहित गर्न प्रदेश सरकारले पनि कार्यक्रम संचालन गर्ने उनले बताए । ‘मानसिक रोगको उपचार गर्ने छुट्टै अस्पताल तत्काल प्रदेशको साधन स्रोतबाट बनाउन नसकिएला’ मुख्यमन्त्री पाण्डेले भने ‘‘तर अस्पतालहरुमा मानसिक रोगको उपचार गर्ने युनिट राखेर सेवा दिनुपर्छ ।’ प्रदेश सरकारले आफ्नो साधन, स्रोत र क्षमताले भ्याएसम्म आत्महत्या निरुत्साहित गर्ने, मानसिक रोगको सहज उपचारको ब्यवस्था गर्ने उनले बताए ।
विकसित देशहरुमा पनि आत्महत्याको घटना धेरै हुने गरेको बताउँदै मुख्यमन्त्री पाण्डेले आत्महत्या गरिबीको कारण मात्र नभएको बताए । आत्महत्याका घटना, यसका कारण पहिचान गरेर सरोकारावाला सबैको सहकार्यमा गण्डकी प्रदेशभित्र आत्महत्या न्यूनिकरणको कार्यक्रम संचालन गरिनेमा उनले जोड दिए ।
सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री शुसिला सिम्खडाको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक संघ संस्था, नागरिक समाज लगायत सरोकारावाहरुको उपस्थिती थियो । ‘आशा जगाऔँ, जीवन बचाऔँ’ भन्ने नारासहित विश्व आत्महत्या रोकथाम दिवस २०२३ आईतवार र सोमवार बिभिन्न कार्यक्रम गरी मनाइएको छ । स्वास्थ्यमन्त्री सिम्खडाले प्रदेश सरकारबाट मानसिक रोग सम्बन्धी विनियोजन गरेको रकम सोही शिर्षकमा नै खर्च गर्ने बताउँदै आत्महत्या न्यूनिकरणका लागि प्रदेश सरकारले सचेतनामूलक कार्यक्रम संचालन गर्ने बताइन् । मन्त्री सिम्खडाले आत्महत्या न्यूनीकरणका कार्यक्रम संचालन गर्न बजेट अभाव नहुने बताइन् । कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य सुवास अधिकारी, प्रदेश प्रहरी प्रमुख बृद्धिराज गुरुङले आत्महत्या सम्बन्धी प्रदेशको अवस्था र दिगो विकासको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *