लागुऔषध कारोबारमा ३२ महिना अघि पक्राउ परेकी कपिलबस्तुकी एक महिला अहिले जिल्ला कारागार कास्कीमा सजाय भोगीरहेकी छन् । कास्की प्रहरीले पक्राउ गरि जिल्ला अदालतमा मुद्दा दर्ता गरेपछि उनलाई पुर्पक्षको लागि कारागार राखेको थियो । तर, उनको मुद्दा अझै टुंगो लागेको छैन् । पक्राउ पर्दा उनी गर्भवती थिइन् । सजाय भोग्ने क्रममै उनले कारागारभित्र बच्चाको जन्म दिइन् ।
अहिले बच्चाको संरक्षण उनी आफैले गरेकी छन् । कारागार प्रशासनको अनुसार उनको परिवारमा बच्चा हेर्ने अन्य सदस्य नभएका कारण बच्चाको रेखदेख स्वंम गर्दै आएकी हुुन् । कानुनतः बालबालिकालाई कैदीसरह जेलमा राख्द पाइदैन् । तर, पनि परिवारमा रेखदेख गर्ने व्यक्ति नहुँदा बालबालिका कैदीसरह कारागारमा बस्न बाध्य छन् । जेलर भीमराज कोइरालाले ती बच्चाको हजुरवुवा–हजुरआमा पनि लागुऔषध कारोबारमा नै कारागारमै सजाय भोगीरहेको बताए ।
प्रहरीले उनको परिवारसहितलाई लागुऔषध कारोबारमा एकैपटक पक्राउ गरेको थियो । यस्तै, २ वर्षअघि बैकिङ कसुरमा पक्राउ परेकी मनाङकी एक महिलाले पनि कारागारभित्रै बच्चाको जन्म दिएकी छन् । उनको परिवारको बच्चाको संरक्षण गर्ने अन्य सदस्य नभएका कारण उनी स्वंम बच्चाको रेखदेख गर्दै आएकी छन् । कारागारका प्रशासकीय अधिकृत झंक पौडेलले नाबालक भएकाले आमाकै काखमा राखिएको बताउदै भने, ‘साना बच्चा आमाको दुध खुवाउनुपर्छ । आमाको दुध खान छाडेको भए अन्य बाटो खोज्न सकिन्थ्यो ।’ उनले परिवारमा हेरचाह गर्ने सदस्य नहुदाँ पनि आमालेसँगै राखेको हुन सक्ने बताए । जिल्ला कारागारमा अहिले दुईजना बालबालिका रहेका छन् । राष्ट्रिय बालअधिकार परिषद् गण्डकी प्रदेशका प्रमुख बद्रीप्रसाद वाग्लेले बच्चा आमासँग बस्न पाउने अधिकार रहेको बताए ।
‘यदी आमालाई केही गारो÷अप्ठ्यारो भएमा संस्थागत संरक्षणका लागि हामी तयारी छौ । बालबालिकाको व्यवस्था गर्न हामी तत्काल सक्छौ तर, अभिभावकको अनुमति चाहिन्छ ।’ उनले अहिलेसम्म बालबालिकाको समस्याबारे आफूहरुलाई जानकारी नआएको बताए । कारागारको प्रशासनले बालबालिका बुझ्ने उमेरका नभएकाले पनि अहिलेलाई कुनै असर नपर्ने जनाएको छ । वाग्लेका अनुसार यदी बालबालिकाले जेल÷कारागार भनेको के हो भन्ने बुझेका हुन्थे भने यसरी राख्न पाइदैन्थ्यो । ‘कानुनीरुपमा पनि राख्न पाइदैन’ उनले थपे, ‘संरक्षण गर्ने कोही छैनन् भन्ने होइन, संस्थागत रुपमा हामी संरक्षण गछौ । अहिलेलाई बालबालिका साना छन् । यदी बुझ्ने हुन्थे भने, मानसीक रुपमा नकरात्मक प्रभाव पर्छ ।’ बालबालिका बुझ्ने भएपछि जिल्ला कारागार, जिल्ला प्रशासन र अभिभावकै सहमतिमा बालबालिकाको संरक्षण गर्नुपर्ने बताए । उनले यस विषयमा सम्बन्धित कार्यालयस“ग छलफल गरिने बताए । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले पनि बालबालिकाको विषय संवेदनशिल भएकाले बेलाबेलामा स्वास्थ्य परीक्षण गर्ने, रेखदेख गर्दै आएको बताए । बालबालिकालाई आमाको काख भन्दा बाहिर राख्ने विषयमा अहिलेसम्म छलफल नभएको उनले बताए ।
