इन्धन चोरी गर्ने व्यापारी र कर्मचारीको मुद्दा अख्तियारमा

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाल आयल निगम गण्डकी प्रदेश कार्यालयका प्रमुख चितरञ्जन दास लगायत कर्मचारी र व्यापारीलाई जिल्ला प्रशासन कार्यालय कास्कीले इन्धन चोरीको आरोपमा भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश कार्यालय पोखरामा मुद्दा दायर गरेको छ ।
दास अहिले सम्पर्कबाहिर छन् । विहीवार दिउँसो जिल्ला प्रशासन कार्यालय कास्कीमा अपरिचित व्यक्तिले इन्धन चोरी भएको सूचना दिएका थिए । सूचनाको आधारमा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले प्रशासकीय अधिकृत नवराज बरालको नेतृत्वमा अनुगमन टोली पठाए । पोखरा महानगरपालिका–२७ तालचोकमा रहेको पश्चिमाञ्चल पेट्रोल पम्पका लागि लोड भएको ग २ ख ८३६ नम्बरको ट्याङकर डिपोबाट २ बजेर ५४ मिनेटमा निस्किएको थियो । प्रशासनको आदेशमा प्रहरीले ३ बजेर १५ मिनेटमा नियन्त्रणमा लिएको थियो । ट्याङकरसहित चालक निर्मल थापालाई पनि प्रशासन कार्यालयले नियन्त्रणमा लिएको छ ।
डा“डाकानाक प्रहरी चौकीमा नापजाँचका क्रममा १२ हजार लिटर क्षमताको उक्त ट्याङकरमा १५ हजार लिटर डिजेल लोड गरिएको फेला परेको हो । पेट्रोल पम्पले किनेको भन्दा ३ हजार लिटर थप चोरीको डिजेल रहेकोले दासलाई प्रशासन कार्यालयले पक्राउ पुर्जी जारी गरेको हो । ट्यांकरमा क्षमता भन्दा धेरै ईन्धन लोड गर्नु जोखिम रहेको प्रहरीले जनाएको छ । डिपोबाट इन्धन चोरी भएको सूचना त्यही कार्यरत कर्मचारीले नै दिएका थिए । पटकपटक कार्यालय प्रमुख दासले अन्य कर्मचारीलाई संलग्न नगराई इन्धनको नापचाँज स्वंम गर्दै आएको बताइएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ का अनुसार इन्धन चोरीको मुद्दालाई थप अनुसन्धानका लागि अख्तियारमा सिफारिस गरिएको प्रजिअ घिमिरेले जानकारी दिए ।
सीडीओ घिमिरेले लेनदेनको कुनै कारोबार भएको नभेटिएकाले भ्रष्टाचार गर्ने हेतुले बढी तेल राखिएको बताए । जाँचबुझ गरेर थप अनुसन्धानका लागि फाइल अख्तियार पठाएको उनको भनाई छ । दासमाथी डिपोको लागि तोकिएको नोक्सानी लक्ष्यको दुरुपयोग गरि इन्धन चोरी गर्ने गरेको आरोप छ । दास प्रदेश प्रमुख बनेपछि गण्डकीमा निगमले अघिल्लो वर्षभन्दा दोब्बर नोक्सानी व्यहोरेको निगम केन्द्रीय कार्यालयको प्रतिवेदनमा उल्लेख छ । डिपोबाट बिक्री हुने इन्धनको नापजाँच गर्न (डिप लिने) कार्यालयका अपरेशन ईन्चार्ज परशुराम अधिकारीलाई तोकिए पनि दासले आफै गर्ने गरेका थिए । प्रशासन कार्यालयका स्रोतका अनुसार इन्धन कर्मचारी र व्यापारीको मिलेमतोमा अवैध कारोबार हुने गरेको सूचना पटकपटक आएको छ । ट्यांकरमा तोकिएको मात्रा भन्दा बढि पेट्रोलियम पदार्थ पठाउने र व्यापारीसँग सिधै पैसा असुल्ने धन्दा रहेको ती कर्मचारीले बताए ।
पेट्रोलियम पदार्थको परिमाणमा चुहावट भएको भन्दैं केही वर्षअघि नेपाल आयल निगम गगनगौंडा डिपो पोखराले भारतबाट नेपालमा पेट्रोलियम पदार्थ आयात गर्ने ट्रयांकरमा लकिङ सिस्टम (टयांकरमा ताला) लगाउन सुरु गरेको थियो । अहिले त्यही डिपोले कर्मचारीको संलग्नतामा पेट्रोलियम पदार्थको चुहावट हुने र व्यापारीसंग लाखौं रुपैयाँ असुल्ने गरेको स्रोतले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी अजय केसीले प्रशासनको आदेशमा इन्धन नियन्त्रणमा लिइएको र बाँकी अनुसन्धानको काम कारबाही प्रशासन कार्यालयबाटै हुने बताए । स्रोतले दिएको जानकारी अनुसार विगतका दिनमा पनि १० हजार लिटर पेट्रोलियम पदार्थको मूल्य कारोबारमा देखाउने र १३ हजार इन्धान पठाइने गरिन्थ्यो । तीन हजार इन्धन कर्मचारी र व्यावसायीले मिलेर बाँडफाँट गर्ने गरेको ती कर्मचारीले बताएका छन् ।
पेट्रोल पम्प बाबुराम जम्मरकट्टेलको हो । उनीसंगकै मिलेमतोमा दासले अवैध धन्दा गर्दै आएको गुनासो डिपोमै कार्यरत कर्मचारीले बताएका छन् । लेखनाथ उद्योग वाणिज्य संघमा दुई पटकसम्म अध्यक्ष भएका जम्मरकट्टेल पश्चिमाञ्चल टे«डर्सका सञ्चालक हुन् । उनकै ट्यांकरमा तेल ल्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *