निर्वाचन आयोगले आगामी १५ वैशाखामा उपनिर्वाचन गर्ने भएको छ । आयोगका सहायक प्रवक्ता थानेश्वर भुसालद्धारा जारी विज्ञप्तीमा उक्त दिन उपनिर्वाचनको लागि उपयुक्त समय भएको बताइएको छ ।
आयोगको आइतबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा आगामी १५ वैशाख शनिबार उपनिर्वाचन गर्ने मिति तोक्ने निर्णय गरेको हो ।
इलाम २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ्ग र बझाङ १ को १ बाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि उक्त पद रिक्त थिए । नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्य र धारा १८० को खण्ड (च) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेशसभा सदस्यको स्थान रिक्त भएको जानकारी सम्बन्धित संघीय संसद सचिवालय र प्रदेशसभा सचिवालयबाट आयोगमा प्राप्त भएको थियो । यसरी कुनै सदस्यको स्थान, प्रतिनिधिसभा वा प्रदेशसभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहेमा उपनिर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
