पछिल्लोसमय मातापिताप्रतिको सम्मान र सेवाभाव हराउन थालेको भन्दै कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठान, उत्तर बाहिनीले मातापिता पुजन महामहोत्सव सुरु गरेको छ । कालिगण्डकी नदी किनारमा कार्तिक ९ गतेदेखि मातापिता पुजन एवं गण्डकी शालग्राम दामोदर महामहोत्सव सुरु भएको हो । महोत्सव ३१ गतेसम्म चल्नेछ ।
महामहोत्सवमा मातापिताको प्रत्यक्ष एवं मानसपुजन, अनेकौँ महापुरुषद्धारा दिव्य प्रवचन, समग्र योग अनुशासन, प्राणायम, ध्यान तथा साधाना, हातहातमा दिप लिएर गण्डकी एवं दामोदरको आरती गरिनेछ । यस्तै, सविधि कार्तिक स्नान तथा उत्तरबाहिनी गण्डकी मञ्त्रोच्चारणपुर्वक जिवन जिउने कला, तनाव व्यवस्थापन, मातापिताको सेवा लगायत विधाका अनुपम प्रशिक्षण, शिक्षा आध्यात्म, संस्कृति क्षेत्रको प्रेरक, अनेकौँ विज्ञहरुको सम्मेलन, गोष्ठी सेमिनार, आयुर्वेद योग र प्राकृतिक उपचार, कर्मकाण्ड, ज्योतिष एवं वास्तु शास्त्रको सरलतम प्रशिक्षण, विशिष्ट सन्त, बैज्ञानिकबीच अदभुत अन्तरसंवाद रहने प्रतिष्ठानका अध्यक्ष चैतण्य कृष्णले जनाए ।
स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गा र पाल्पाको रम्भा गाउँपालिका–१ अर्सेदीमा रहेको धाममा दुवै किनारमा कार्यक्रम गरिने छ । प्रतिष्ठानद्धारा सञ्चालित गुरुकुलमा विभिन्न जिल्लाका ३३ जना विद्यार्थी अध्ययनरत छन् । सोही विद्यार्थीको अध्ययन तथा प्रतिष्ठानको दिगोपनाका लागि महोत्सवको आयोजना गरिएको आयोजकले बताएको छ । यहाँ अध्ययनरत विद्यार्थीलाई कुनै पनि शुल्क लाग्दैन् ।
निशुल्क विद्यादान, अन्नदान र जिवनदानका लागी अक्षयकोष स्थापनाको लागि महामहोत्सवको आयोजना गरिएको अध्यक्ष चैतन्यकृष्णले बताए । ११ करोडको अक्षयकोष स्थापना गर्ने उद्देश्यका साथ गर्न लागिएको महामहोत्सवमा खर्च भने कम हुने आयोजकको दावी छ । कार्तिक १ गतेदेखि हरेक दिन अनुष्ठानका कार्यहरु भईरहेको भन्दै ९ गतेबाट आफ्ना बुवाआमालाई कालिगण्डकी तडमा रहेको उत्तरबाहिनीमा ल्याई सेवाभाव, आमाबुवाप्रतिको कर्तव्य भाव जागृत बनाउन यो कार्यक्रम गरिएको बताइएको छ । आफ्ना दिवंगत बुवाआमाको सम्झनामासमेत फोटो राखेर पुजा गर्न सकिने भएकाले जेष्ठ बुवाआमाका लागी निशुल्क आवासीय व्यवस्थापन गरेको छ ।