गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले सहकारीहरुलाई उत्पादन सहित कृषि क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । पोखरा–२ को समदर्शी महिला बचत तथा ऋण सहकारी संस्था विहिबार पोखरामा सम्पन्न भएको १३ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री बरालले सहकारीहरुले आफ्नो उद्धेश्य अनुरुप काम कमैले गरेको उल्लेख गर्दै उत्पादन सहित कृषि क्षेत्रमा लगानी गर्न आग्रह गरे ।
उनले सहकारीको उद्धेश्य अनुरुप काम गर्न सुझाव दिए । महिलाको जनजिवनमाथि उठाउन उत्पादन र उद्यमशीलतातर्फ केन्द्रित हुदै कृषि क्षेत्रलाई प्रथामिकता दिएर लागेमा राज्यले यस्ता सहकारीलाई सहयोग गर्ने उनले बताए । नेपालमा उत्पादनको प्रवल सम्भावना हुदाँ हुदै करिब ४ खर्ब भन्दा बढीको खाद्य पदार्थ विदेशबाट भित्राउनुले नेपालको अर्थतन्त्रलाई निकै कमजोर बनाएको मन्त्री बरालले बताए । उनले भने, ‘नेपालमा कुनै पनि ठाँउमा मरुभूमि त छैन । यहाँ प्रायः जहाँ जे रोपे पनि फल्न सक्छ । यसमा उत्पादन गर्ने उद्धेश्यले सहकारीले कृषिको क्षेत्रमा लगानी गर्नु पर्छ ।’
उपभोक्ता सहकारी संघकी केन्द्रिय सदस्य चन्द्रकुमारी ढकाल पराजुलीले एक सहकारी एक उत्पादन अभियान सफल पार्न सबै लाग्न आग्रह गरिन् । आम्दानीसंगै बचत गर्न उनको सुझाव थियो । उक्त अवसरमा उत्कृष्ट कारोवार गर्ने सिता भुजेल, उत्कृष्ट बचत कर्तामा लक्ष्मि अधिकारी दाहाल, उत्कृष्ट कर्जातर्फ यूनिका तामाङ र बिषेश बचत कर्तामा विनिता भट्टचन गौचन घोषित भएका छन् । ४ सय ९० जना शेयर सदस्य रहेको उक्त सहकारीमा शेयर पूंजि भने २ करोड ३५ लाख ५८ हजार रहेको छ । त्यसैगरी सहकारीले ४ करोड ९७ लाख ५ हजार ९ सय ८२ रुपैया ऋण लगानी गरेको छ । पोखरा२ मा कार्यालय रहेको उक्त सहकारीको पोखरा २, ३, ४, ५, ६, ७, ८, ९ र १७ वडामा कार्य क्षेत्र रहेको छ । १३ बर्षअघि २८ जना शेयर सदस्यबाट उक्त सहकारी सुरु भएको थियो ।
