इलामको निर्वाचन क्षेत्र नम्बर २ र बझाङको निर्वाचन क्षेत्र नम्बर १ को १ मा शनिवार हुने उपनिर्वाचनमा सहभागी हुन निर्वाचन आयोगले सवै मतदातालाई अपिल गरेको छ ।
उपनिर्वाचनको लागि तयारी पुरा भएको बताउँदै आयोगले सहभागी हुन सवैलाई आग्रह गरेको हो । निर्वाचन आज विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म चल्नेछ । आयोगले ढुक्क भएर आफ्नो उम्मेदवारलाई भोट दिन पनि अपिल गरेको छ ।
‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन हुने दिनभन्दा ४८ घण्टा अगाडिबाट शुरू भएको प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७९ को पालनामा आयोगले विशेष सजगता अपनाएको छ’ प्रेस विञप्तीमा भनिएको छ ।
निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, अनुगमन अधिकृत, मतदान कार्यमा खटिएका कर्मचारी एवम् सुरक्षाकर्मीबाटसमेत अनुगमन भइरहेको आयोगले जनाएको छ ।
