आगामी वैशाख १५ मा हुन गइरहेको इलाम २ को प्रतिनिधिसभा र बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ को उपनिर्वाचनका लागि शनिवार भएको मनोनयन दर्तामा ३२ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार इलाममा २० र बझाङमा १२ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगका सहायक प्रवक्ता उपसचिव रामदत्त पाण्डेयले जानकारी दिए ।
प्राप्त विवरण अनुसार इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएको छ । मनोनयनपत्र दर्ता गर्ने २० जना सबै पुरूष रहेको आयोगले जनाएको छ । यस्तै, बझाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएको छ । जसमध्ये १ जना महिला र ११ जना पुरूष रहेका छन् ।