उपप्रधानमन्त्री श्रेष्ठ र कोरियाली राजदुत पार्कबीच भेटवार्ता

Share this post :

Facebook
Twitter
WhatsApp

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि कोरियाका राजदूत पार्क तेयोगबीच मंगलबार द्वीपक्षीय भेटवार्ता भएको छ । भेटवार्तामा सहकार्य र सम्बन्धका धेरै आयामबारे बृहत छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

शिष्टाचार भेटका लागि गृह मन्त्रालय आएका राजदुत पार्कलाई स्वागत गर्दै मन्त्री श्रेष्ठले उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास व्यक्त गरे । समयका लागि उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठप्रति कृतज्ञता जनाउँदै राजदूत पार्कने नेपालमा आफुले तीन महिनादेखि राजदूतको रूपमा काम गरिरहेको तथा नेपाल र दक्षिण कोरियाको मैत्रीपूर्ण एवम् दौत्य सम्बन्ध आगामी दिनमा थप बलियो हुने विश्वास व्यक्त गरे ।

दुई देशबीच सांस्कृतिक लगायत धेरै समानता रहेको आगामी वर्ष दुई देशको कुटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुग्न लागेको समेत उनले स्मरण गरे । गृहमन्त्री श्रेष्ठले दक्षिण कोरिया नेपालको महत्त्वपूर्ण विकास साझेदार रहेको र कोइकामार्फत नेपाल प्रहरी साइबर ब्युरोको निर्माण र क्षमता विकासमा सहयोग पुर्‍याएकोमा धन्यवाद दिएका छन् । दशकौंको आन्दोलनपछि प्राप्त राजनीतिक परिवर्तनसँगै अहिले नेपालको मुख्य ध्येय गुणात्मक आर्थिक सामाजिक विकास रहेको र यसमा वैदेशिक लगानीको भूमिका महत्त्वपूर्ण हुने पनि श्रेष्ठले बताए ।

प्रत्यक्ष वैदेशिक लगानीलाई प्रवर्द्धन गर्न हाल नेपालमा लगानीमैत्री वातावरण र आधार बनाईसकिएको तथा सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने हुँदा दक्षिण कोरियाको सहयोग र साथको निरन्तरताको अपेक्षा राखेको उनले बताएका छन् । इपिएसु कार्यक्रममार्फत दक्षिण कोरियाले धेरै नेपालीलाई रोजगारी प्रदान गरेकोमा धन्यवाद दिंदै उपप्रधानमन्त्री श्रेष्ठले उक्त कार्यक्रममा नेपालीको कोटा बढाउन मिल्ने सम्भावनातर्फ विचार गर्न समेत आग्रह गरेका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले काठमाडौं र दक्षिण कोरियाको राजधानी सोलबीच सिधा हवाई सम्पर्क स्थापना गर्न पहल गर्नुपर्ने समेत बताएका छन् । त्यसबाट नेपाल आउने दक्षिण कोरियाली पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि हुने, नागरिक नागरिकविचको सम्बन्ध थप प्रगाढ हुने र शान्ति एवम् सौहार्दताको सन्देशसमेत जाने उनले बताए । नेपाल भ्रमण गर्ने कोरियाली नागरिकको सुरक्षामा निश्चिन्त हुन समेत उनले आग्रह गरेका छन् ।

त्यसक्रममा राजदूत पार्कले नेपाल–दक्षिण कोरिया सम्बन्धका तीन आधार शान्ति, नागरिक नागरिकबिचको सम्बन्ध र समृद्धि भएको बताए । इपिएस कार्यक्रम अन्तर्गत दक्षिण कोरियाले सबैभन्दा बढी नेपाली कामदार लिने गरेको र दक्षिण कोरियाली कामदार सरह सामाजिक सुरक्षा प्रदान गरेको समेत बताए । इपिएस र कोइकामार्फत उद्यमशिलताको प्रवर्द्धन गर्ने लक्ष्य रहेको उनले बताएका छन् । दक्षिण कोरिया नेपालको चौथो ठूलो विकास साझेदार रहेको र सामसुङ लगायत विश्व प्रसिद्ध दक्षिण कोरियाली कम्पनीले आगामी दिनमा नेपालमा समेत उद्योग विस्तार गर्ने विश्वास उनले व्यक्त गरेका छन् । राजदूत पार्कले नेपाल भ्रमणमा आउने दक्षिण कोरियाली पर्यटक र बौद्ध धर्मावलम्बीको संख्या बढ्दो रहेको बताए । यसवर्ष नेपाल आएको बौद्ध धर्मावलम्बीको प्रतिनिधिमण्डल टोलीको सुरक्षा र यात्रा सहजीकरणका लागि गृह मन्त्रालय र अध्यागमन विभागलाई उनले विशेष धन्यवाद दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *