कास्कीको मादी गाउँपालिका–१२ लिपेयनीस्थित स्पाइम स्मृति मल्टिप्रपोज एग्रो फार्मका करिव तीन सय बाख्रा मरेका छन् । फार्म संचालक नारायण बरालका अनुसार डेढ महिनाको अन्तरालमा फार्ममा रहेका २ सय ८० वटा बाख्रा मरेका हुन् ।
क्रोनिक निमोनियाका कारण घाँस, दाना, पानी नखाने, सिँगान बगाउने र र्याल काट्न थालेपछि बाख्रा एकाएक झोक्राउँदै मर्न थालेको बरालले बताए । उनका अनुसार दुई सय ८० बाख्रामा तीन वटा मात्र बाख्रा जिउँदा छन् । पशु चिकित्सकलाई सम्पर्क गरेपछि बाख्राको घाँटीमा इन्जेक्सन लगाए पनि सुधार नभएको उनले बताए । करिव ५ करोडको लागतमा २०७४ बाट फार्म संचालन गरेका बरालले ठूलो संख्यामा बाख्रा मर्दा डेढ करोड घाँटा भएको बताएका छन् ।
उनका अनुसार गतवर्ष यो समय ३८ लाख रुपैयाँ आम्दानी गरेको थिए । यसवर्ष ५० लाख कमाउने लक्ष्य थियो सवै चक्नाचुर भयो । एउटा माउ बाख्रालाई डेढ, दुई लाखसम्म हालेर किनेको बताउँदै उनले भने, ‘अष्ट्रेलियन जातको बोएर बाख्रा हुन् । यसबाट आम्दानी राम्रो भएको थियो एकाएक रोग लागेपछि लगानी नै डुव्ने डर भयो ।’ यस फार्ममा चार जना युवाले प्रत्यक्ष रोजगारी पाएका छन् । नेपाल इन्स्यूरेन्स कम्पनीमा १०÷१२ हजारको मात्र बीमा गरिएको संचालक बरालले बताए । यस फार्मलाई पालिकाले सम्मानस्वरुप दुई वर्षअघि २ लाख रुपैया दिएको थियो ।
मादी–१२ का वडा सदस्य मिलन ढकालले स्थानीय र प्रदेश सरकारसँग राहतको माग गरिएको बताए । उनले संचालन गरेको फार्म गाउँपालिकाकै नमुना रहेको ढकालको दावी छ । ‘यही फार्मको सिको गर्दै गाउँका अरु युवाले पनि व्यावसायिक फार्म संचालन गर्नुभएको छ’ उनले भने, ‘गाउँमा केही गर्नुपर्छ भन्ने जोशले युवा लागेका छन् । विपत्ले कहिलेकाँही अप्ठ्यारो परिस्थिति पार्छ ।’