फागुन ३० मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धनगढी पुगेर सुदूरपश्चिम सरकारमा नेपाली काँग्रेसलाई सहभागी गराउने बताए । सुदूरपश्चिम प्रदेशमा मन्त्री हेरफेरको तयारी भइरहेको छ । स्थानीय तहको निर्वाचन नजिकिदै जादाँ नेपाली काँग्रेसले सवै प्रदेशमा आफ्ना मन्त्री भए पनि सुदूरपश्चिममा आफ्नो प्रतिनिधित्व नभएको भन्दै माग गरेको कुरा दाहालले बताएका थिए ।
दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत–समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीचको भेटमा सुदूरपश्चिममा समाजवादीका मन्त्री धेरै भएकाले उसले कांग्रेसलाई मन्त्रीको सिट दिन त्याग गर्नेबारे पनि छलफल भएको दाहालले बताए । सुदूरपश्चिममा कांग्रेसलाई सरकारमा सहभागी गराउने चर्चा चलेसँगै गण्डकी प्रदेशमा पनि एकीकृत समाजवादीले पनि मन्त्री माग गरेको छ । गठबन्धनका नेताबीच गण्डकी सरकारमा समाजवादीलाई ल्याउनेबारे सहमति भइसकेको पार्टी स्रोतले जनाएको छ ।
संविधानको धारा १७० मा गैरसांसद ६ महिनासम्म मन्त्री बन्न सक्ने व्यवस्था छ । गण्डकी प्रदेशसभामा माधव नेपाल नेतृत्वको समाजवादीका एकजना पनि सांसद छैनन् । सोही ऐनमा टेकेर सरकारमा जाने तयारी समाजवादीको छ । नेकपा एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यले यस विषयमा आधिकारीकरुपमा बोल्न नसकिने बताए । ‘गठबन्धनको केन्द्रमा भएको छलफल हो’ उनले भने, ‘सुदूरपश्चिममा हाम्रो ७ मन्त्री छन् । उता हामीले एउटा मन्त्री छाडेपछि गण्डकीमा हाम्रा मन्त्री छैनन् यता कांग्रेसले एउटा मन्त्री दिने कुरा भएको थियो । सवै प्रदेशमा गठबन्धनका सवै दलको प्रतिनिधित्व हुने भन्ने सुन्नमा आएको छ ।’
उनले सरकारमा को जाने, कहिले जाने भन्ने विषयमा कुनै टुंगो नलागेको बताए । पार्टी स्रोतका अनुसार सांसद नभएकालाई पनि ६ महिना मन्त्री बनाउन पाइने प्रावधान अनुसार सरकारमा जाने तयारी छ । गण्डकी प्रदेशमा मुख्यमन्त्रीसहित १२ मन्त्री छन् । गण्डकी प्रदेशमा संविधान अनुसार १२ जनासम्म मन्त्री बनाउन पाइने व्यवस्था छ । पछिल्लोपटक मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मन्त्रिपरिषद्मा छलफल नै नगरि डोबाटे विश्वकर्मालाई मन्त्री बनाएका थिए । दुई महिनासम्म विनाविभागीय मन्त्री बनाएपछि आफू अन्तर्गत रहेको आन्तरिक कानुन मन्त्रालय फुटाएर जिम्मेवारी दिएका थिए । अव गण्डकीमा मन्त्री थप्न मिल्ने अवस्था छैन् । सुदूरपश्चिममा आफूहरुले मन्त्री पद छाडेपछि गण्डकीमा कांग्रेसले पनि एउटा पद छाड्नुपर्ने समाजवादीका नेताको तर्क छ ।
गठबन्धनको तर्फबाट गत जेठ २९ मा गण्डकीमा कांग्रेसका कृष्णचन्द्र नेपालीको नेतृत्वमा सरकार गठन भएको थियो । हाल सरकारमा कांग्रेसका ६, माओवादीका ४, जनता समाजवादीका १ र स्वतन्त्र सांसद मन्त्री छन् । मुख्यमन्त्रीको प्रेस संयोजक भरत कोइरालाले समाजवादीलाई मन्त्री दिने विषयमा केन्द्रबाट आधिकारीक पत्र नआएको बताए । उनका अनुसार मन्त्री माग गरिए पनि यो हल्ला मात्र हो । स्रोतका अनुसार माधव नेपालले मुख्यमन्त्रीलाई फोन गरेर मन्त्री माग गरेका थिए । यसको जवाफमा मुख्यमन्त्रीले गण्डकीमा १२ जना मन्त्री रहेको र यहा“भन्दा बढी थप्न नमिल्ने बताएका थिए । ५९ सदस्यीय गण्डकी प्रदेशसभामा कांग्रेसका १५ सदस्य रहेका छन् भने, माओवादीका सभामुखसहित १२, जसपा र राष्ट्रिय जनमोर्चाका दुई÷दुई र स्वतन्त्र सांसद रहेका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका २७ सांसद रहेका छन् । यसभन्दा अघि राजमोका कृष्ण थापा कारबाहीमा परेपछि उक्त पद रिक्त रहेको हो ।
