प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदै गर्दा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार एकै पटक ७ सय ८४ कर्मचारीको सरुवा गरेको छ । उनीहरुलाई अन्तर स्थानीय तहमा सरुवा गरेको हो । मन्त्रालयले बिहीबार थप तीन सय कर्मचारीलाई सरुवा गरेको छ ।
मन्त्रायलले तीन सयभन्दा बढी स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत फेरेको छ । मन्त्रालयले कर्मचारी व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ अनुरूप भौतिक रूपमा र इमेलमार्फत निवेदन माग गरेर कर्मचारीलाई सरुवा गरेको हो । लोक सेवा आयोगले २०७६ जेठमा स्थानीय तहमा गरेको पदपूर्ति अन्तर्गतका नियुक्ति भएका कर्मचारीलाई मन्त्रालयले सरुवा गरेको छ ।
स्थानीय तहको निर्वाचनबाट नेतृत्व परिवर्तन भएसँगै जनप्रतिनिधिको दबाब र कर्मचारीको चाहनाअनुसार सरुवा गरिएको संघीय मन्त्रालयले जनाएको छ । स्थानीय तहका लागि नियुक्ति भएका वा समायोजन रोजेका कर्मचारी प्रदेश वा संघ पठाउने गरिएको छैन । कर्मचारी माथिल्लो तहबाट तल्लो तहमा भने कर्मचारी पठाउने गरिएको छ । सरुवाका लागि लैजाने र छाड्ने दुवै स्थानीय तहले सहमति दिनुपर्ने नीति छ । मन्त्रालयले अब निवेदन दिने कर्मचारीको सरुवाका सम्बन्धमा भने कुनै निर्णय नहुने जनाएको छ ।
सरकारले काठमाडौं, ललितपुर, कास्की, दैलेख, पाँचथर, उदयपुर, संखुवासभा, सप्तरी, जुम्लालगायतका जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।
