हामी कृष्ण
तिमी कृष्ण
म कृष्ण
तिनी रुक्मिणी
उनी राधा
एक्काइसौं शताब्दीका
कृष्णहरुको कथा हो यो !
मैले नदेखेका बुढा बादेखि बुढी आमाहरूले भनेको कथा
आज कृष्ण जन्मेका रे !
बहिनीलाई जेलमा कोचेर
कंसले भनेको कुमारी नारीको संकट
हामीले धेरै सुनेका छौं
द्रौपदीलाई सत्ताले घृणा गरेको
नमिता र सुनिताका कथा
तिनीहरूले भोगेकै छन्
न्यायलाई मारेर
अन्यायको विरुवा रोप्नेहरूको कथा
बर्मझियामा माष्टरसाब मारेको पनि
तिमीले देखेकै छौ
अझै तिमीले कृष्ण बनेको
सत्ता र शक्तीको उन्मादमा मानेकै छौं !
एकजोर लुगा आमालाई किन्न नसकेर वर्षमा एक पटक
तीजमा बहिनी आइनिन् निम्ता नदिंदा
त्यसै गयो गोठालाको जीवन
बाटो खन्दा गिटी बोक्दा
पिठ्युँमा बनेका घाऊको उपचार भएन
चिसो रातमा
बाको फाटेको कछाड बेरेर सुत्दा
निद्रा आएन
पसिना बगाउँदा घर भनेर
पानीमा ओत लाग्ने बास मिलेन
आमाले पैंचो लिएको पाँच पसर चामल पैंचो तिर्न
सापटी मिलेन कतै !
तिमी कृष्ण ?
थाह छ कृष्ण को थिए ?
कृष्णले गोठालाहरूलाई साथी बनाए रे
राधाहरूलाई बेसहारा हुन दिएनन्
द्रौपदीहरूलाई निमोठिनबाट रोके
बज्रस्वाँठ शिशुपाललाई छेदन गरेर समाज बचाए
हे, एक्काइसौं शताब्दीका कृष्णहरु !
कंशहरूलाई काँधमा राखेर
शिशुपालहरूलाई सत्ताको आडमा
जोगाई राखेकै छौ
ग्वालाहरू टुहुरै छन्
भेडी गोठ तिर
टुप्पी देखिने टोपी लगाएर
द्रौपदीहरू इज्जत जोगाउन किटकिट दाँत किटेका छन्
आमाहरू छाती र पिठ्युँ देखिने
चोलीहरूले सर्म छोपेका छन्
अनि, निस्कन्छ बोलीमा तिम्रो
तिमी नै कृष्ण हौ रे !
यतिखेर पश्चिम सम्झँदै छ
बाटैमा हराएकी छोरीको कथा
समतल मैदानहरूमा कालकुट छरेर
लुट्नेहरूको कथा भोगेकै छ
हावामा फैलिएको तिम्रा कालो समचारले
लुगलुग कामेका छन् निर्दोष शरिरहरू
शोकमा डुबेका सिसौका बोटदेखि
मकैका पोथ्राहरूले बारीबाट
तिम्रो अन्याय देखेकै छन्
तर पनि अशान्त जीवनलाई
शान्त छ भन्ने देखाउन
कृष्णको गीत गाउँछौ तिमी किन ?
तिमी कृष्ण हुन
शिशुपालहरूको संगत छोड
कंशहरूलाई मामा नभन
द्रौपदीलाई पाखा फालेर
दुशासनहरूलाई आफन्त नबनाऊ
ग्वालाहरूलाई गोठालो गएर फर्कन देऊ
सुदामाको सम्मानमा एक दिन बाँच ।