नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेकै नेतृत्वमा चुनाव हुने बताएका छन् । शुक्रबार प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमालेको सरकार बन्ने दावी गरेका छन् । उनले नेकपा एमालेकै नेतृत्वमा चुनाव हुन आवश्यक रहेको जनाए । वर्तमान सरकार असफल भई सकेको भन्दै बजेट होल्डका कारण आर्थिक र बित्तिय अनुसासन बिहिन तर्फ मुलुक भएको भट्टराईले चिन्ता व्यक्त गरे । ६५ दिनसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसक्नुले सरकारको असफलता र असक्षमता पुष्टि गरेको उनले बताए ।
भट्टराईले पार्टी विभाजन दुखद रहेको बताए । ‘पार्टी विभाजनको असर तल्लो तहसम्म परेको छैन’ उनले भने, ‘विभाजनले जम्मा ५ प्रतिशत मात्र असर गरेको छ । फुटेर गएकाहरु पनि एमाले पार्टीमै फर्किनुको विकल्प छैन् ।’ उनले माधनकुमार नेपाल पनि एमालेमा नै फर्किनुको विकल्प नरहेको बताए । उनले गण्डकी प्रदेश सरकारले ल्याएको आमसंचार विधेयक माथि पनि बोलेका थिए । सरकारले ल्याएको विधेयकमा पत्रकारलाई लगाउने अंकुशप्रति एमालेको समर्थन नरहने बताए ।
