पद्मा जीसी श्रेष्ठको नेतृत्वमा एमालेले ४ एमाले मन्त्रालय लिएर सरकारमा सहभागी भएकाे छ । साेमबार नियुक्त भएका चार मन्त्रीले प्रदेश प्रमुख डिल्लीराज भट्टसँग शपथ लिए ।
एमालेकी केन्द्रीय लेखा आयोग सदस्य जीसीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउँदा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था जस्तो शक्तिशाली मन्त्रालय भने प्रकाशबहादुर केसीको भागमा परेको छ । कास्कीका केसी गत चुनाव अघि राप्रपा त्यागेर एमालेमा प्रवेश गरेपछि समानुपातिक सांसद चुनिएका थिए । उनी एमाले संसदीय दलका नेता खगराज अधिकारी निकट हुन् ।
पहिले भौतिक पूर्वाधार मन्त्री रहेका स्वतन्त्र सांसद राजीव गुरूङले वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाएका छन् ।गण्डकीमा भागबन्डा मिलाउन आइतबार दुई मन्त्रालय फुटाएर ७ बाट ९ पुर्याइएको थियो । सामाजिक विकास मन्त्रालयबाट फुटाइएको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी एमालेबाट बागलुङका कृष्ण पाठकले प्राप्त गरेका छन् । एमालेकै मित्रलाल बस्याल उद्योग, पर्यटन मन्त्री भएका छन् ।