उपमेयरमा एमालेकै गुरूङ दाेहाेरिन्
प्रमुख प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतान्तरले पछाडि पार्दै नेकपा एकीकृत समाजवादीका धनराज आचार्य पोखरा महानगरपालिकाको मेयर पदमा निर्वाचित भएका छन् । अाचार्यले ५८ हजार ८ सय ९३ मत ल्याउदा थापाले ५२ हजार ८ सय ४८ मत प्राप्त गरेका छन् ।
काँग्रेसकी काेपिला रानाभाटलाई ३ हजार ८ सय ८३ मतान्तरकाे फरककाे उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ निर्वाचित भईन् । गुरुङले ६० हजार ५ सय ४६ मत र रानाभाटले ५६ हजार ६ सय ६३ मत प्राप्त गरेका छन् । निर्वाचन भएको १२ औं दिन बुधबार बिहान १ बजे अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।
पोखरामा २ लाख ७ हजार ७ सय १२ मतदाता रहेकोमा १ लाख ४३ हजार २ सय २६ (६८.९५) प्रतिशत मत खसेको थियो । मेयरमा २३ जना र उपमेयरमा ९ जनाले प्रतिस्पर्धा गरेका थिए । मेयरमा राप्रपाका शंकर खरालले ५ हजार ६ सय ७४ र स्वतन्त्र उम्मेदवार खडकराज पौडेल (गनेस) ले ३ हजार ३० मत प्राप्त गरे । खसेको मतमध्ये २० हजार ७ सय ८१ मत बदर भएकाे जनाईएकाे छ ।
मेयरमा निर्वाचित भएपछि आचार्यले जन्मदेखि मृत्युसम्मका दर्ता प्रक्रिया नि:शुल्क गर्ने पहिलो घोषणा हुने बताए । उपमेयरमा पराजय व्यहोरेकी कांग्रेस उम्मेदवार रानाभाटलाई आचार्यले महानगरमा सल्लाहकारका रूपमा सँगै राखेर लैजाने बताएका छन् । अाचार्य र रानाभाट गठबन्धनका साझा उम्मेदवार हुन् ।
आचार्यले २५ वर्षदेखिको एमाले विरासतलाई भत्काउँदै मेयरमा निर्वाचित भएका हुन् । यसअघि थापा ०५४ मा एमालेबाट तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए । ०७४ मा एमालेकै मानबहादुर जीसी महानगरको मेयरमा निर्वाचित भएका थिए । यसअघिको निर्वाचनमा एमालेले जितेका वडासमेत यसपल्ट गुमाएको छ ।
पहिला ३३ मध्ये २२ वटा वडा जितेको एमाले यसपल्ट ९ वटामा खुम्चिएको छ । कांग्रेसले पहिला ११ वटा जितेकोमा यसपल्ट २३ वटा पुर्याएको छ । पोखराको वडा नम्बर २२ मा स्वतन्त्र उम्मेदवार हिमलाल बराल निर्वाचित भएका छन् । उनी कांग्रेस र माओवादी केन्द्रको समर्थनमा चुनाव लडेका थिए ।
२०३९ मा अनेरास्ववियूबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका आचार्य माले, एमाले हुँदै अघि बढे । पृथ्वीनारायण क्याम्पसको स्ववियू सभापति, अखिलको जिल्ला अध्यक्ष, पश्चिमाञ्चल अध्यक्ष र केन्द्रीय सचिवालय सदस्य समेत भए । नेकपा मालेबाट पार्टी राजनीति सुरु गरेका उनी एमालेको जनवर्गीय संगठन नेपाल राष्ट्रिय वाणिज्य संघको केन्द्रीय अध्यक्ष बने । लायन्स क्लब अन्तर्राष्ट्रियको गभर्नर बनेर समाजसेवामा सक्रिय भए ।
२०७८ मा पार्टी विभाजन हुँदा उनी माधवकुमार नेपालतिर लागे । एकीकृत समाजवादीको केन्द्रीय सदस्य र कास्की अध्यक्ष भएर पार्टी हाँके । प्रकाशन गृह, जलविद्युत्मा लगानी गरेर सफल व्यवसायी बनेका उनी मेयर निर्वाचित भएर राजनीतिमा सफलता हात पारेका छन् ।
कृष्ण थापा ०५४ मा एमालेबाट तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए । त्यसपछि उनले ०७० मा संविधानसभाको चुनावमा टिकट पाएर निर्वाचित हुन सकेनन् । ०७४ मा प्रदेश निर्वाचन क्षेत्र २ (क) बाट चुनाव लडेर विजयी भए । उनी आफ्नो क्षेत्र २ (ख) छोडेर अर्को निर्वाचन क्षेत्रबाट चुनाव लडेका थिए । कार्यकाल ६ महिना बाँकी छँदै फेरि पोखरा महानगरको मेयरमा भिडेका हुन् ।