स्थिर समयमा चुनाव प्रचारप्रचार गर्न पाइँदैन तर उम्मेदवारको सामान्य जनजीवनमा कुनै बन्देज हुँदैन । तर, कास्कीको क्षेत्र नं। ३ मा भने एमाले कार्यकर्ताले पाँच दलीय गठबन्धनका उम्मेदवारलाई बिरामी भेट्नसमेत रोकेका छन् ।
शुक्रबार माओवादी केन्द्रका नेतासमेत रहेका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनलाई एमाले कार्यकर्ताले अवरोध गरेका हुन् । बराल अन्नपूर्ण गाउँपालिका वडा नं। १ को भीरमुनिका माओवादी कार्यकर्ता नारायण भण्डारीकी बिरामी आमालाई भेट्न जाँदै थिए ।
गण्डकी प्रदेशका अर्थमन्त्रीसमेत रहेका बराल मत प्रभावित गर्न पैसा बाड्न आएको भन्दै एमाले कार्यकर्ताले अवरोध गरेका हुन् । बाटैमा रोकेर एमाले कार्यकर्ताले सामाजिक सञ्जालमा अनर्गल आरोप लगाएर लाइभ गरेको र केही मिडियाले भ्रामक रूपमा समाचार सम्प्रेषण गरेकोमा बरालको सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ ।
शुक्रबार साँझ विज्ञप्ति निकालेर सचिवालयले भनेको छ, ‘बिरामी भेट्न गएको अवस्थामा केही अराजक ब्यक्तिहरुबाट अतिरञ्जित गरिएको घटनाप्रति खेद व्यक्त गर्दै भ्रामक र नियोजित समाचार र होहल्लाको पछाडि नलाग्न सबैमा हार्दिक अनुरोध गर्दछौँ ।’
यता, जिल्ला निर्वाचन अधिकारी प्रकाश खरेलले भने बरालको गाडी र साथबाट केही नभेटिएको बताए । उनले भने, ‘आयोगले गाडी खानतलासी र अरु जाँच गर्दा केही नभेटिएकाले छाडिएको छ ।’