माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एमाले अध्यक्ष केपी शर्मा ओलीबाहेक एमालेका अन्य कार्यकर्तासँग काम गर्न असहज नरहेको बताएका छन् । उनले एमालेका नेता र कार्यकर्तासँग काम गर्न कुनै कठिन नभएकोब ताए । ओलीले घोचपेचको प्रवृत्ति अन्त्य गर्नुपर्ने सुझाव दाहालले दिएका छन् ।
सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि सहभागि हुने क्रममा दाहालले प्रतिनिधिसभाको शनिबारको बैठकमा ओली प्रवृत्ति सुधार्न सुझाए । ‘मलाई त एमालेका धेरै नेता कार्यकर्ताप्रति भरोसा, विश्वास अहिले पनि छ’ उनले भने, ‘यो प्रवृत्ति जसमा यति धेरै अहंकार, यतिधेरै दम्भ र निषेधात्मक प्रवृत्ति नहुने हो भने एमालेका नेता कार्यकर्तासँग काम गर्न कठिन हुने देखिँदैन ।’
यसअघि प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा स्थानीय तहको निर्वाचन, राष्ट्रिय सभाको निर्वाचन, संघीय र प्रदेश सरकार गुमाएको कुरालाई लिएर ओलीले आत्मसमीक्षा गरी वामपन्थी एकताको कुरा गर्ने अपेक्षा गरेको तर त्यसो नभएको उनले बताए । ‘वामपन्थी एकता, गठबन्धनले भनेको, अदालतले भनेको कुरामा पुनर्समीक्षा, पुनरावलोकन गर्नुहुन्छ कि भन्ने लागेको थियो’ दाहालले थपे, ‘तर, ३ घण्टा गाली गर्ने अरुलाई बदनाम गर्ने र धेरै झुट बोल्ने गर्नुभयो ।’
