राष्ट्रिय परीक्षा बोर्डले शुक्रबारदेखी कक्षा १२ को परीक्षा सुरु हुने बताएको छ । बोर्डका अनुसार कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी हुने छन् ।
नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी ३ लाख ९० हजार ८ सय ४७ परीक्षार्थी रहेको बोर्डले जनाएको छ । बाँकी विद्यार्थी ग्रेडवृद्धिका रहेका छन् ।
सवैभन्दा धेरै विद्यार्थी काठमाडौँबाट सहभागी हुँदै छन् भने, मनाङ र मुस्ताङमा एक÷एक वटा परीक्षा केन्द्र तोकिएको छ । यी जिल्लामा सवैभन्दा कम परीक्षार्थी छन् । यस्तै काठमाडौँमा मात्रै एक सय ४४ वटा परीक्षा केन्द्र रहेको बोर्डले जनाएको छ ।
परीक्षामा ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन हुने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । गतवर्ष भन्दा यसवर्षको परीक्षामा १८ हजार परीक्षार्थी बढी छन् । प्रश्नपत्र भने गतवर्ष जस्तै अनलाइनबाट पठाइने उनले बताए ।
२०७६ को कोभिड महामारीयता बोर्डले कक्षा १२ को प्रश्नपत्र अनलाइनबाटै पढाउने व्यवस्था गर्दै आएको छ । चैतमा सञ्चालित एसईई परीक्षामा भने छपाइ गरेरै परीक्षा केन्द्रहरूमा प्रश्नपत्र पठाइएको थियो । परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार १ सय ७१ जना खटिने छन् । १८ हजार ३ सय प्रहरी परिचालन हुनेछन् ।