प्रिय कामरेड हिमाल,
थाह छैन सलाम भनेर स्वस्ती गरौं कि नमस्कार भनुँ !
बिपी कोइरालाको कथा “दोषी चश्मा” मा पात्र केशवराजको चश्मा दोषी थियो भन्ने छ । अलिक टाढाको मानिस तिनी चिन्न सक्तैनथे । र, हामी पनि तपाईंहरूलाई चिन्न नसकेको मन लिएर बसेका छौं ।
कामरेड हिमाल तपाईं नेत्रनाथ अधिकारीबाट हिमाल बन्नुभयो । तर हिमाल जस्तो बन्न सक्नु भएन । यो गल्ती कस्को थियो ? २०७९ को तीजको गीतमा दङ्गाली गायिका रीता रावतले “श्रीमान जिउँदो भएको बिधवा हुँ म” भनेर गीतको टुक्का निकाले जस्तो अवस्थामा जनताहरू हुँदा तपाईंहरुको बदलिएको अवस्था देख्दा खुशी बनुँ कि दुखी ?
तपाईंले दिएको लिखित अन्तरवार्ता पहिलो पटक २०५१ तिर पढेको हो । पत्रिकाको नाम भने थाहा छैन । सायद क. प्रज्जवलको नामबाट दिएको अन्तरवार्तामा पर्वतको सेतीबेनीको जुवा काण्ड र खनियाघाटको कृषि बिकास बैंकका तत्कालिन प्रमुखलाई कालो मसो दल्न राँके जुलुस लिएर गएको कुरा गौरवपुर्ण तरिकाबाट उठाउनु भएको थियो ।
क. मलाई सोध्न मन लागेको छ – गण्डकी प्रदेशको सभामुख बनेका नेत्रनाथ अधिकारीको मन कति पहिला जस्तै उस्तै छ वा फाटेको दुध जस्तै बिखण्डित बनेको छ ? तपाईं म्याग्दी तिर पढाउँदा वा २०४२ साल तिर शिक्षकको जागिर छोडेर पूर्णकालिन हुँदा वा फेरी सरकारी नेता हुँदा के कति बदलिनु भयो र समाज कति बदल्नु भयो ? सोच्नुहोस् एकपटक । यदि तपाईंले आज पनि सहज उत्तर दिनुभयो भने तपाई ठीक हुनुहुन्छ । अन्यथा क्रान्तिको नाममा तपाईंले र तपाईंका कामरेडले बिताएका जीवनलाई ठीक मान्न सकिन्न । गणतन्त्रको कुरा गरेर जनताको अगेनोमा भात पाक्दैन । समस्या भएको यही हो ।
कामरेड हिमाल ! निश्चय पनि तपाईंले र तपाईंका कामरेडहरूले बनाएको संगठनको जालोले तपाईंका नेता क. बादललाई समेत २०५३ तिर ६ महिना पर्वतको भुगोलमा लुकाएर खोकिलामा माया गरेर राखेको थियो । २०६५ मा तिनै राम बहादुर थापा मन्त्री बन्दा युद्धको समयमा खोकिलामा राखेर माया गरेका पर्वतेली जनतालाई भेट्न किन जान सकेनन् ? यस्तै यस्तै समस्याका कारण तपाईंको पार्टी २०६५ देखि २०७०, २०७४ र २०७९ सम्ममा ओरालो यात्रामा हिंड्दै छ । थाहा छ यस्ता कुरा तपाईंहरू बुझ्न चाहानु हुन्न र नै नेपालीहरूलाई दुख दिइरहनु भएको छ ।
तपाई २०६५ मा पर्वतको चुनावमा त्यती देखिनु भएन । किन कि मेरो कामको जिम्म पाल्पा हो भन्नु हुन्थ्यो । सायद यसै कारण मनरुपा शर्मा “बिमला” ले पर्वतको १ नम्बर क्षेत्रमा चुनाव हार्नुभयो र त्यसपछि कहिल्यै पालो पाउनु भएन । सहिद पत्नी भनेर भन्ने तर तपाईंले चुनावमा निभाएको भुमिका के कस्तो थियो ? मुल्याङ्कन गर्नु होला ।
२०७० को चुनाव भन्दा अगाडी तपाईंका कामरेडहरूको साउन महिनामा पार्टी केन्द्रको नीति अनुसार धेरै स्थानमा चुनाव जितिने आकलनको प्रतिवेदन बुझाइ । पर्वतमा पनि जितिन्छ भनेर होला तपाईं चुनावमा भिड्नुभयो । तर, हातमा हारको माला आइलाग्यो । २०७४ को चुनावमा पर्वत जिल्लाको ‘क’ बाट जितेर राजनीतिको हिमालको शिखरमा पुग्नु भयो बाँकी के भयो आफै म भन्नु होला ।
२०७९ को चुनावमा गुप्त हमालले पर्वतको ‘क’ मा खेलेको भुमिका पनि क्रान्तिको आवश्यकता थियो वा अर्को पार्टीका सांसदका उमेदवारको पैसा खाएर गरेको डकार थियो ? उनैले जानुन् ।
कामरेड तपाईंलाई नेत्रनाथ अधिकारीबाट हिमाल शर्मा बनाउने तिलहार, बाजुङ, चर्काङ, उराम, पैयुँका मानिसहरूको कथा पढ्नुभएको छ कि छैन होला ? तपाईं हिमाल हुँदै गर्दा बगैंचाको हिमालय माबि कुन अबस्थामा थियो ? बितलबको गणेश पौडेलले पढाउने स्कुल कस्तो थियो ? र, बाग्लुङको महेन्द्र क्याम्पस कस्तो थियो ? तिनीहरूको अवस्था २०८० मा कस्तो छ ?
बुझ्नुहोस् आज अवस्था सप्रेको छ कि बिग्रेको ? सोच्ने काम तपाईंहरूको नै हो । खेतबारीमा सलह पसेर बाली सखाप पारे जस्तो हुँदा पनि किन तपाईं सभामुख भएको प्रदेशमा मन्त्री बन्न होडबाजी चल्छ र मन्त्रालय फुटालेर किन मन्त्री बन्छन् नेताहरू ? वा मन्त्री बन्दा देशको समृद्धी हुने हो?
पर्वतको नै कुरा गरौं । पर्वतमा केन्द्रिय सदस्य हुन पाइन भन्ने अब तपाईंको पार्टीमा कोही पनि छैनन् होला । फेरी पनि किन तपाईंहरूको पार्टी बन्दैन ? उत्तर सजिलो छ । भन्न कठिन होला तर कुनै समयमा तपाईंहरूले बोल्नै पर्छ ।
तपाईले २०७० मा चुनाव लड्दा पार्टी घरको नामबाट लिएको ऋण तिर्न भनेर कुन कुन स्थानबाट सहयोग लिनेहरू कस कसले घर बनाए भन्न सक्नु हुन्छ ? पर्वतेलीहरूलाई थाह छ यो कुरामा तपाईं निर्दोष हुनुहुन्छ । तर तपाईंका पार्टीका नेताले लिएको सहयोगको कुरा गर्न सक्नुहुन्छ ? पार्टी घर ऋणमा राखेर पेशा नभएका नेताको शहरमा घर कसरी बन्छ ? तिनै नेताको वरिपरीका मानिसको धन-ब्यबशायको नाममा नदेखिने प्रष्टता नै तपाईंको पार्टी नबन्नुको कारण हो ?
तपाईं सभामुख हुँदा सहयोगी वा पिए भनेर ज्वाईंलाई रोज्नुभयो। ज्वाईंको भुमिकाबाट तपाईं सभामुख हुनुभएको हो र? वा शहिद हेम बहादुर गुरुङको परिवारको भुमिका थियो? तपाईंको सहयात्री कुबिजा पराजुली र गोकर्ण पण्डितको भुमिकालाई मेटेर तपाईंहरू हिमालबाट नेत्रनाथ अधिकारी नै बनेको कुराको यथार्थता कहिले बुझ्नुहुन्छ होला? उनीहरू कि छोरीले कहाँ बसेर यी कुरा पढ्दै छिन होला ?
पर्वतेली माटोले जन्माएको र उनीहरूले छाक काटेर दिएको खानाबाट कृष्ण तिवारी ‘विवेक’ जन्मे तर बेलैमा सहिद बने । क. हिमाललाई आफ्नो मुटुलाई पनि बन्दकी राखेर जोगाउन खोज्ने धुर्व आचार्यहरू कता छन् भन्ने कुरा तपाईं सभामुख हुँदा खोज्नु भयो ? थाह छ –खोज्नु भएन । साउन महिनामा खोला तर्दा टेकेको लौरी कार्तिकमा तपाईंलाई बोझ बनेको कारण नै पार्टी सकिएको हो ।
पर्वतेलीको चौतारी बनेर हिंडेका गुरू कृष्ण गौतमको परिवार बारे तपाईंहरूको सम्झना छैन। कतिको परिवारलाई बन्दकी राखेर जीवन स्यालको जस्तै बैंसालु बनेको छ। शान्ती प्रक्रियापछि मुद्दा मिलाइ दिन्छु भनेर पैसा उठाउनेहरुको बिगबिगी तपाईंहरूको पार्टीमा छ र यस्ता मानिस तपाईंको पर्वतको पार्टीमा छन्। ओम्नी समुहको मायाँमा बस्नेहरूको पैसा र गाडी तपाईंहरूका मानिसलाई प्यारो लाग्छ ।
हिजोका चोसो कोठीमा बसेर च्यातिएका थाउनामा सुताउनेहरूलाई सम्झेर अब काम पनि छैन कि ! किन कि यो डन्लब, पिजा, मम, चाउमिन र थकाली खानाको समय लाग्छ होला तपाईंहरूलाई ।
प्रिय अधिकारी, तपाईंहरू इतिहासलाई गलत र शक्तीको आडमा पढ्न रुचाउनु हुन्छ। कुनै समय तपाईंलाई सभामुख बनाउने मध्यका रामप्रसाद भुषाल र सोमप्रसाद गौचनहरू यो संसारलाई छोडेर गए। सायद यसो हुनुमा तपाईंहरूको दोष त थिएन। तर पनि कुनै समय तपाईं नेता भएको जिल्लाका सचिबहरूको बारेमा सम्झेर कुनै कार्यक्रम गर्नुभएन ? सायद आवश्यक नभएर होला ।
रिसानी भए माफ चाहान्छु । मलाई थाह छ तपाईं भन्दा पनि तपाईंका केही बलिष्ठ कामरेडहरू रिसाउँछन् होला । किन कि तिनीहरूको बाटो भनेको नै कङ्सको राज चलाउन देवकीहरूलाई बन्धक बनाउनु हो ।
२०५२ देखि २०६३ सम्म पर्वतमा सुतेको खाट, गुन्द्री, पानी पिउने लोटा, भात खाएको सिल्टेको वा स्टिलको थाल र तिनै तपाईंलाई बाँचेको देख्न खोज्ने बुढी आमाहरू, ख्याल गर्नु भन्ने बुढा बाहरूलाई सम्झनुहोस् । तिनीहरूका घरघरमा गएर बाटो बिराएको थिएँ र आधी बाटोबाट फर्केर तपाईंहरूलाई भेट्न आएको छु भनेर आत्मालोचना गर्दा नै पार्टी बन्छ ।
अन्त्यमा, मलाई लागेका यस्तै कुरा तपाईंका प्रदेशका नेता क. सुनिल, क. करण, क. सरोज सहित प्रम. प्रचण्डलाई सुनाइ दिनुहोला । इतिहासको मुल्याङ्कनबाट सहि बाटो निस्कन्छ र स्वार्थी समुहले बाटोमा पहिरो चलाउँछ । बिदा !
तपाईलाई माया गरेर हित चिताउने एक बेनामी नेपाली
२०८०/०५/२१