कर्तव्य ज्यान मुद्दाका प्रतिवादी ४५ बर्षपछि पक्राउ

Share this post :

Facebook
Twitter
WhatsApp

कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय तोकिएपछि फरार रहेका स्याङ्जाको चापाकोट नगरपालिका–८ का ७३ बर्षिय गणेशबहादुर कुमाललाई प्रहरीले पक्राउ गरेको छ । सजाय तोकिएको ४५ बर्षपछि प्रहरीले विशेष सुराकीको आधारमा विहिबार आफ्नै घरबाट पक्राउ गरेको जनाएको छ । कुमाललाई शुक्रबार जिल्ला अदालतमा हाजिर गराई सजाय भुक्तानको लागि जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरीका प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए । उनलाई इलाका प्रहरी कार्यालय चापाकोटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
गणेश कुमालले आफुलाई गोरे कुमाल भनी नाम परिवर्तन गराई स्याङ्जाबाट नवलपरासी बसाँइसराँई गरि परिवारसहित बस्दै लुकिछिपी बस्दै आएका थिए । दशैको मौका पारि पुरानो घर चापाकोट फकिएका कुमाललाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । २०३३ साल बैशाख २ मा चैते दशैको पूर्णिमा मेला लागेको थियो । तत्कालीन रत्नपुर गाउँ पञ्चायत–८ हाल चापाकोट नगरपालिका–८ कालीगण्डकी नदी किनारस्थित खोरीयाघाटमा तत्कालिन रत्नपुर गाउँ पञ्चायत र सेखाम गाउँ पञ्चायतका युवा समुहले भारतीय सेनामा कार्यरत पाल्पाको तत्कालीन गोदारछाप गाउँ पञ्चायत–२ का २४ बर्षिय जीतबहादुर रानाको हत्या गरी कालीगण्डकी नदीमा फालेका थिए । राना घर विदामा आएको मौका पारी चैते दशैको मेला हेर्न चापाकोट आएका थिए । रानाका परिवारले २०३३ साल बैशाख ६ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जामा जाहेरी दरखास्त दिएका थिए ।
२०३६ साल माघ १७ गते जिल्ला अदालत स्याङ्जाबाट घटनामा संलग्न प्रतिवादीलाई जन्मकैदको फैसला भएको । प्रतिवादीहरूका तर्फबाट तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अदालतमा पुनराबेदन गरेकोमा सो अदालतबाट २०३९ कार्तिक २४ गते जिल्ला अदालत स्याङ्जाकै फैसला सदर भएको थियो । प्रतिवादीहरूले पुनः सर्वोच्च अदालतमा पुनरावेदन गरे । २०४० माघ ८ गते जिल्ला तथा क्षेत्रीय अदालतकै फैसला सदर गरी सर्वोच्चले पनि प्रतिवादीहरूलाई जन्मकैदको सजाय तोक्यो । त्यस पश्चात प्रतिवादीहरू फरार भई लुक्दै बसेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *