नेपाली काँग्रेसका जिल्ला सभापति किशोरदत्त बराललाई हराउँदै कास्की निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका मनबहादुर गुरुङ विजयी भएका छन् । बराल गुरुङसँग २ हजार ५ सय १९ मतान्तरले पराजित भएका हुन् । शुक्रबार सम्पन्न भएको मतगणना अनुसार एमालेका गुरुङले २५ हजार ७ सय ८ मत ल्याएका थिए भने, काँग्रेसका बरालले २३ हजार १ सय ८९ मत प्राप्त गरेका थिए ।
कांग्रेसका बराल अन्तर्घातका कारण पराजित हुन पुगेको काँग्रेस कार्यकर्ता स्वंम बताउँछन् । कांग्रेस कार्यकर्ताले एमालेसँग मिलेर आफ्नै पार्टीका उम्मेदवार हराउन भूमिका खेलेको भन्दै बिहीबार साँझ पार्टीका पूर्वजिल्ला सभापति कृष्ण केसीको घर घेराउ गर्दै नाराबाजी गरेका थिए । कास्कीमा सत्ता गठबन्धनका उम्मेदवार हराउन अभियान चलाएको अरोप केसीलाई छ । कास्कीमा सत्ता गठबन्धनबाट कास्की २ को २ र ३ को २ मा काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।
यता, एमालेका गुरुङ पूर्व प्रदेशसभा सदस्य हुन् । २०७४ को बाम गठबन्धनबाट साझा उम्मेदवार बनेका गुरुङ प्रत्यक्ष निर्वाचनबाट सांसद भएका थिए । २०४३ सालदेखि कम्युनिस्ट पार्टीको विद्यार्थी संगठनमा लागेर राजनीतिमा सक्रिय भएका गुरुङले २०५२ सालमा एमाले पार्टीको सदस्य लिएका थिए । गाउँ कमिटी, इलाका कमिटी सदस्य, जिल्ला पार्टी उपाध्यक्ष हुँदै अहिले उनी पार्टीको जिल्ला अध्यक्ष छन् । एमाले निकट आदिवासी जनजाति जिल्ला समन्वय समितिको उपाध्यक्ष समेत भइसकेको गुरुङ २०५४ मा साविक पार्चे गाविस अध्यक्ष निर्वाचित भएका थिए ।
