काँग्रेस संसदिय दलकाे नेतामा देउवा विजयी

Share this post :

Facebook
Twitter
WhatsApp

काँग्रेस संसदीय दलकाे नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । बुधबार विहान भएकाे मतदानमा देउवाले ६४ मत ल्याएर विजयी भएका हुन् ।

प्रधानमन्त्री समेत रहेका देउवाकाे प्रतिस्पर्धामा गगनकुमार थापा रहेका थिए । थापाले २५ मत प्राप्त गरेका छन् । काँग्रेसका ८९ सांसद मध्ये ८८ जनाले मतदान गरेका थिए । दुवै जनाले मंगलबार उम्मेदवारी दर्ता गराएका थिए । विहान ८ बजे सुरू हुने भनिएकाे निर्वाचनमा माेवाइल फाेन लैजाने कि नलैजाने भन्ने विषयमा विवाद भएपछि, मतदानस्थल माेवाईल नलैजाने सहमति भएसँगै केही बेरपछि मतदान सुरू भएकाे थियाे ।

लामो समयदेखि नेतृत्व परिवर्तनको आवाज उठाउँदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल मुद्दा विसर्जन गर्दै देउवाकै प्रस्तावक बसेका थिए । पौडेलको प्रस्तावमा पूर्णबहादुर खड्का समर्थक थिए । थापाको प्रस्तावकमा शेखर कोइराला थिए भने युवा नेताहरू धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले समर्थन गरेका थिए । २०५१ सालमै तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले युवा नेता देउवालाई संसदीय दलको नेतामा अघि सारेका थिए । दलको नेता भएकै कारण उनी ४९ वर्षको उमेरमै देशको प्रधानमन्त्री बनेका थिए ।

पार्टीभित्रको समीकरणलाई सहज बनाउन सभापति कोइरालाले ०५६ मा अर्का नेता कृष्णप्रसाद भट्टराईलाई चुनावअघि नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेका थिए । चुनावपछि संक्षिप्त समयका लागि प्रधानमन्त्री हुने बाटो पनि दिएका थिए । तत्कालीन माओवादी द्वन्द्व व्यवस्थापनमा भट्टराई र कोइराला असफल भएपछि देउवा दोस्रो र तेस्रो पटक प्रधानमन्त्री भए ।

२०६२/६३ को परिवर्तनयता पनि देउवा चौथो र पाँचौं पटक प्रधानमन्त्री भए । उनी संसदीय दलका पछिल्ला सबै निर्वाचनमा प्रतिस्पर्धी छन् । ०६४ मा देउवालाई पराजित गरेर पौडेल दलको नेता भएका थिए । तर, प्रधानमन्त्रीका लागि संसद्मा १७ पटक प्रतिस्पर्धा गर्दा पनि उनी  विजयी भएका थिएनन् । २०७० मा संविधानसभाको दोस्रो निर्वाचनपछि तत्कालीन पार्टी सभापति सुशील कोइरालासँगको स्पर्धामा पनि देउवा पराजित भएका थिए । सुशीलको निधनपछि १३ औं महाधिवेशनमा देउवा सभापति चुनिए, तयश समयमा प्रधानमन्त्री पनि भए ।

२०७४ को निर्वाचनपछि उनी नै संसदीय दलको नेतामा निर्वाचित भए । त्यतिबेला देउवासँगको प्रतिस्पर्धामा प्रकाशमान सिंह मैदानमा थिए । प्रकाशमान अघि सर्दा सबैभन्दा अग्रमोर्चामा रहेर गगनले उनलाई साथ दिएका थिए । अहिले गगन मैदानमा आउँदा भने प्रकाशमान उनको पक्षमा देखिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *