कात्तिक ८ सम्म बक्यौता नतिरे ४९ उद्योगको लाइन काटिने

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाल विद्युत् प्राधिकरणले ४९ उद्योगलाई ८ कात्तिकसम्म पनि डेडिकेटेड फिडर र ट्रंकलाइनको प्रिमियम महसुल बक्यौता नबुझाए विद्युत् लाइन काट्ने चेतावनी दिएको छ ।

२४ असोजमा सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले बक्यौता तिर्न उद्योगलाई ताकेता गरेको हो । त्यसअघि प्राधिकरणले २२ असोजमा उद्योगलाई छुट्टाछुट्टै पत्रमार्फत पनि बक्यौता तिर्न ताकेता गरेको थियो । त्यसपछि २४ असोजमा सार्वजनिक सूचना नै प्रकाशन गरेर बक्यौता तिर्न ताकेता गरिएको हो ।

आठ अर्ब चार करोड नौ लाख हाराहारीमा रहेको कुल बक्यौता समयमै नबुझाएमा कानुनअनुसार कारबाही अघि बढाउने सार्वजनिक सूचनामा उल्लेख छ ।

बक्यौता नतिरेको भन्दै प्राधिकरणले गत असार २५, २६ र २७ गते ६ उद्योगको लाइन काटेको थियो । कानुनअनुसार बक्यौता नतिरेसम्म काटिएको लाइन जोड्न मिल्दैन । तर, ३० असारमा प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओलीले उद्योगहरूमा लाइन जोड्न ठाडो मौखिक निर्देशन दिए । त्यसपछि विद्युत् नियमन आयोगले पनि ६ साउनमा प्राधिकरणलाई लाइन जोड्न लिखित निर्देशन दिएको थियो । ६ उद्योगले दिएको उजुरीका आधारमा आयोगले उक्त निर्देशन दिएको थियो । त्यसपछि प्राधिकरणले ८ साउनमा ६ उद्योगमा काटेको लाइन जोड्ने निर्णय गरेको थियो ।

त्यसवेला तीन महिनाभित्र महसुल बक्यौता तिर्ने सर्तमा लाइन जोड्ने निर्णय गरिएको थियो ।

प्राधिकरणले ८ साउनको निर्णय तत्काल पत्रमार्फत उद्योगहरूलाई दिएको थियो । त्यसपछि २५ भदौ, २२ असोजमा पनि पत्रमार्फत ताकेता गरिएको थियो । साथै, २४ असोजमा सार्वजनिक सूचना पनि प्रकाशन गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता चिरञ्जीवी चटौतले यो विषयमा मन्त्रालयमा पछिल्लोपटक छलफल नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *