कालीगण्डकीमा निर्माणाधीन पुल भत्किँदा ८ जना घाइते

Share this post :

Facebook
Twitter
WhatsApp

कालीगण्डकी नदीको रामपुर र चापाकोट जोड्ने निर्माणाधीन पक्की पुलको बिम भत्किँदा ८ जना कामदार घाइते भएका छन् । रामपुर नगरपालिका–६, प्याकलुक र स्याङजाको चापाकोट नगरपालिका–८, दामाचौर जोड्ने पुलको काम गर्ने क्रममा बिम खस्दा घाइते ८ जनामध्ये दुई जनाको अवस्था गम्भीर छ ।
प्रहरीका अनुसार घाइते हुनेहरु रौतहटका २४ वर्षीय प्रेमधन पटेल, बाराका २२ वर्षीय रामनिवासकुमार पटेल, हरिहरपुरका २८ वर्षीय जितेन्द्र पटेल, भारत बिहारका २५ वर्षीय धनन्जय ठाकुर, सोही ठाउँका २१ वर्षीय सुजितकुमार यादव, ४८ वर्षीय रघुनाथ राव, २५ वर्षीय अनुपकुमार राव, गोरखाका २३ वर्षीय सृजन परियार रहेका छन् । घाइतेमध्ये बाराका रामनिवास र भारत बिहारका धनन्जयको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले बताए ।
पुलको काम गर्ने क्रममा आइतबार बेलुकी ७ बजेतिर क्रेनले बिम मिलाउने क्रममा सामान्य त्रुटि हुँदा दुर्घटना भएको डिभिजन प्रमुख लम्सालले बताए । निर्माणाधीन पक्की पुल निर्माणको क्रममा क्रेनले फलामको बिममाथि उचाली कामदारहरुलाई उक्त बिम जोड्ने काम गर्दा अचानक बिमसहित कामदारहरु खसेको उनले बताए ।
प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ । डिभिजन सडक प्रमुख लम्सालका अनुसार काम गर्ने क्रममा त्रुटि भएकाले घटना भएको बताए । क्रेनले बिम राख्दा सन्तुलन नमिल्दा दुर्घटना भएको हुनसक्ने उनले बताए । तीन स्पानको ट्रस पुल हो । एक स्पानको काम भइरहेको थियो । टेका र क्रेनकै कारण यस्तो भएको हो । कामदारहरुले सुरक्षित हुनका लागि हेल्मेटसमेत नलगाएका कारण बढी घाइते भएको स्थानीयले बताए ।
२०६८ सालमा ठेक्का भएको पुल अझै अलपत्र छ । यस्तै, इलाईटरएसबिए जेभीले प्याक्लुक–दामाचौर पुलको ठेक्का पनि २०६८ असार २६ मै सम्झौता भएको थियो । १३ करोड ६८ लाखमा ठेक्का भएर निर्माण सुरु भएको दामाचौर पुलमा पनि बिडिए नेपाल प्रालि कन्सल्टेन्ट रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *