आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि कास्कीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय सहित तीनवटै क्षेत्रको लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । बिहिबार एक औपचारिक कार्यक्रमकाबिच कास्कीका मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले कार्यालयको उद्घाटन गरे ।
कार्यालय उद्घाटन कार्यक्रममा खरेलले राज्यले विश्वास गरेर दायित्व प्रदान गरेकोमा खुशी व्यक्त गर्दै सबैको समन्वय र सहकार्यमा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे । सबैको अनुभवका कारण कास्की जिल्लामा सहज तरिकाले निर्वाचन सम्पन्नहुने उनको विश्वास थियो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले निर्वाचनलाई शान्तिपूर्ण ढंगल सम्पन्न गर्नुपर्ने प्रमुख दायित्व रहेको बताए । निर्वाचन सम्बन्धी सम्पूर्ण क्रियाकलाप आम सर्वसाधरणले हेर्दाखेरी स्वतन्त्र, निष्पक्ष, धाधलीरहित भयो भन्ने विश्वसनियता हासिल गर्न सक्नुपर्ने धारणा राखे ।
प्रदेश निर्वाचन कार्यालय पोखराका निर्वाचन अधिकारी हुमनाथ पराजुलीले बिहिबार गण्डकी प्रदेश अन्तर्गतका ४ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको बताए । विभिन्न निकायसँग समन्वय सहकार्य गरेर निर्वाचन अधिकृतहरुको कार्यालय स्थापना गरिएको उनकाे भनाई थियो ।
कास्कीको तीनवटा क्षेत्र अन्तर्गत कास्की जिल्ला क्षेत्र नम्बर १ को लागि पशु सेवा निर्देशनालय परिसर रामघाट पोखरा, क्षेत्र नम्बर २ को लागि पोखरा सभागृह हल परिसर र क्षेत्र नम्बर ३ को लागि जिल्ला समन्वय समिति कास्कीको परिसर शहिदचोकमा कार्यालय स्थापना भएको छ ।
निर्वाचन अन्तर्गत असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम हुँदैछ । मनोनयन दर्ताको लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पुरा भएको प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।