डिभिजन वन कार्यालय कास्कीले पुम्दीभुम्दीस्थित वन अतिक्रमण गर्ने २२ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ । वन कार्यालयले वन क्षेत्र अतिक्रमण गरी भोगचलन गरेको अभियोगमा मंगलबार अभियोगपत्र दायर गरेको हो । अदालतका अनुसार मेघबहादुर क्षेत्री (राजु क्षेत्री), कृष्णप्रसाद बराल र उमनाथ देवकोटासँग जनही ५० हजार धरौटी माग गरिएको छ ।
मुद्दामा न्यायाधीश रामचन्द्र शर्माको मंगलबारको इजलासले अदालतमा उपस्थित तीन जनासँग जनही ५० हजार धरौटी मागेको छ । अभियोग पत्रमा उल्लेख गरिए अनुसार पुम्दीभुम्दीको शान्ति स्तूपदेखि पूर्वको जग्गामा राजु क्षेत्रीले इलाइट क्याफे एन्ड रेस्टुरेन्ट वन क्षेत्रमा निर्माण गरेर संचालन गरेका छन् । एक सय ७२ वर्गमिटरमा रहेको रेस्टुरेन्टको भाडा पोखरा २२ कै लीला आधारभूत विद्यालयले पाउने गरी स्थानीयको भेलाले वन क्षेत्र भाडामा लगाएको थियो ।
स्थानीयले टेन्डर खोली २०६८ मा मासिक १५ हजार पाँच सय ५० रुपियाँमा भाडामा लगाइएको थियो । ०६८ मङ्सिर ८ गते सम्झौता गरी क्षत्रीले यो क्षेत्र प्रयोग गर्दै आएका छन् । अभियोग पत्रमा वन ऐन, २०७६ र नियमावली, २०७९ बमोजिम कारबाही माग गरिएको छ । मुद्दामा पोखरा–२२ का वेदनाथ बराल, तारानाथ पौडेल, कृष्णबहादुर कामी, सीतादेवी बराल, भरत सुनार, उदयबहादुर खत्री, डम्बरबहादुर बराल, शेषरमण बराल, होमबहादुर विश्वकर्मा, हरिबहादुर विक लगायतलाई प्रतिवादी बनाइएको छ । यसैगरी, महावीर कामी, रुद्र कामी, गंगाराम सुनार, दिव्यकुमार बराल, मीनबहादुर कामी, ध्रुव विक, सुरज कामी बराइली, बालकृष्ण ढकाल र विकास सुनारविरुद्ध पनि मुद्दा परेको छ ।