कास्कीमा सामाजिक कुरीतिविरुद्ध प्रशिक्षण कार्यक्रम विहीवारदेखि सुरु गरिएको छ । सामाजिक विकास कार्यालय कास्कीको आयोजना र जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले विभिन्न नाममा हुने कुरीति न्यूनीकरणका लागि प्रशिक्षण कार्यक्रम पनि आवश्यक रहेको बताए । प्रशिक्षणमा सहभागी व्यक्तिले आ–आफ्नो ठाउँमा पहल गर्न सके आगामी बर्षको बजेटमासमेत यस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइने उनले बताए । जनताको माग र आवश्यकतानुसार बजेटमा सम्बोधन हुने उनको भनाई थियो ।
शिक्षा विकास निर्देशनालयको हलमा आयोेजित दुई दिने तालिममा ४५ जना सहभागी छन् । कास्कीका पाँच वटै पालिकाका प्रतिनिधित्वमूलक जनप्रतिनिधि, सहकारी, शिक्षक, प्रअ, विभिन्न ठाउँका आमा समूह, क्लव, सामाजिक अभियान्ता, अल्पसंख्यक, पिछडिएको वर्ग लगायतको तालिममा सहभागीता थियो । विहीवार सुरु भएको उक्त कार्यक्रम शुक्रबार सम्पन्न हुनेछ ।
सामाजिक विकास कार्यालयका प्रमुख इन्द्रबहादुर थापाले दुई दिनसम्म सचांलित कार्यक्रमले समाजमा विद्यमान सामाजिक कुरीति, लैंगिक हिंसा, बाल विवाह, दाइजो प्रथा, जातिय भेदभाव, मानव वेचविखन तथा ओसारपसार लगायतका परम्परागत हानीकारक अभ्यास न्यूनिकरण गर्नमा टेवा पुग्ने बताए । कार्यालयका अधिकृत ज्ञानेश्वर सुवेदी सचेतनामूलक यस्ता कार्यक्रम गाउँगाउँ र टोलटोलमा पु¥याउने उदेश्यले विभिन्न क्षेत्रको प्रतिनिधित्व गराइएको बताए । उनका अनुसार प्रत्येक क्षेत्रबाट महिलालाई अनिवार्य सहभागिता गराइएको छ ।