काँग्रेस कार्यकर्ताले जिल्ला पार्टी कारणयालयमा बुधबार तालाबन्दी गरेका छन् । पोखरा महानगरपालिकाको मेयर समाजवादीलाई दिने निर्णयले नेपाली कांग्रेसका सम्पूर्ण सुभेच्छकहरूलाई गम्भीर चोट लागेको उल्लेख गर्दै काँग्रेस महानगर समितिले मेयर र उपमेयरसहित सबै वडामा आफ्नै उम्मेदवार उठाउने बताएको छ ।
महानगर समितिका सचिव गणेश थापाले मेयर र उपमेयर पदका उम्मेदवारको छनोट प्रक्रियामा रहेको उल्लेख गर्दै महानगरसमितिले पोखराको मेयर र उपमेयरसहित सबै वडामा आफ्नै उठाउने तयारी गरेको विज्ञप्ति मार्फत जानकारी दिए । समितिले बुधबार दिउँसो वडा सभापतिहरूको भेला बोलाएको छ । उक्त भेलाबाटै उम्मेदवारहरूबारे निर्णय गर्ने बताइएको छ ।
एमालेको जनाधार बलियो रहेको पोखरामा पनि कांग्रेसबाहेक अर्को दलले जित्ने सम्भावना नभएको दाबी गर्दै प्रमुख पद नछाड्न महानगर र जिल्ला समितिले केन्द्रीय नेतृत्वलाई दबाब दिँदै आएका थिए । आफ्नै प्रदेशको महानगरमा नेतृत्व लिन कांग्रेस नेता रामचन्द्र पौडेलले अन्तिम समयसम्म अडान राखेका थिए । तर उनले मंगलबार पौडेलले पोखराकै कारण गठबन्धन भत्किन भने दिएनन् । अन्य महानगरको भागबन्डामा त्यसअघि नै सहमति भएको थियो ।
एकीकृत समाजवादीको मेयरको उम्मेदवार को हुने भन्ने टुंगो लागिसकेको छैन । एकीकृत समाजवादीले १४ जनाआकांक्षीको नाम महानगर कमिटीले प्रदेश कमिटीलाई सिफारिस गरेको छ । समाजवादीका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष धनराज आचार्यले मुख्यरुपमा आफ्नो दाबेदारी प्रस्तुत गरिरहेका छन् । अनेरास्ववियूको राजनीतिबाट उदाएका उनी पछिल्लो समय व्यवसायमा बढी सक्रिय थिए । स्टेसनरी, प्रकाशन गृह हुँदै उनले हाल जनविद्युतमा लगानी गरिरहेका छन् ।