यो बेला चामल किन्न दिन आग्रह गर्दैछौ
ऊ बेला धानबालीमा मल नभए रोएका
किसानको आवाज सुनेनाै ।
यो बेला चिनीको मूल्य घटाउन आग्रह गर्दैछौ
ऊ बेला उखुको पैसा नपाएर छाती पिटी पिटी
रुनेको बिलौना सुनेनौ ।
केराको थम्मन छ्याप छ्याप्ती छिनालेर बगाएको देखेनौ
अहिले तेब्बर मूल्य तिर्न खुसी छौ ।
किसानको दूधले बाटो सेताम्य बनाएर
टन का टन पाउडर आयात गर्न व्यस्त छौ ।
खनिजिय गुण बोकेर बगेका कञ्चन पानीको आवाजले
कुनै प्रभाव नपार्ने तिम्रो जीउ
ब्रान्डिङ् वाटर ले सिञ्चित गर्दै छौ ।
बारीको घिउकुमारी बगाउन बाध्य किसानलाई
समुन्द्रपार को एलोभेरा जुस पिउन सिफारिस गर्दै छौ आज ।
कार्बन मोनोक्साईड को मुस्लो आयात गर्दै
विश्वमै प्रथम स्थान हासिल भएकोमा रमाउँदै
मुस्ताङ म्याक्स लाई बन्द गर्न सफल भयौ ।
ठूला क्यामेराको उपस्थितिमा गाउँको पेय लाई नस्टाउँदै
लुकाएरै काला राता नसालु झोल आयात गर्न सफल भयौ ।
जहाजमा खाँदी खाँदि युवा शक्ति समुन्द्र पार लखेटेर
प्लेनमा मातृभूमि बेचुवा आयात हुनेछन् अब
शैक्षिक बेरोजगारको चित्कारमा रमाउँदै छौ आज
भेडाहरु भित्रिएर तिम्रै छातीमा कुल्चँदा आँखा खुल्लान तिम्रा ।
