घरमा कुुइने र नकुइने फोहोर छुट्याएर घरमा नै कम्पोष्ट मल बनाउन सकिन्छ । पोखरा महानगरबासीलाई घरमा जम्मा हुने कुइने फोहोरबाट कम्पोष्ट मल बनाउन प्रशिक्षण दिइएको छ । नेपाल बिकास समाजको आयोजना र पोखरा महानगरपालिकाको समन्वयमा घरबाट उत्पन्न हुने कुइने वस्तुलाई कम्पोष्ट मल बनाउन तालिम दिइएको हो ।
कार्यक्रमकी प्रमुख प्रशिक्षक ज्ञानु आचार्यले घरेलु फोहोर व्यवस्थापनको लागि कम्पोष्टिङ गर्ने तरीका, करेसाबारी एवं कौसीखेतीबारे प्रशिक्षण दिएकी थिइन् । फोहोरलाई मोहरमा परिणत गर्न यस्ता कार्यक्रमको पनि आवश्यक पर्ने उनले बताइन् । ‘भान्साबाट निस्कने जैविक फोहोरलाई कम्पोष्ट मल बनाएर कौसी र करेसाबारीमा प्रयोग गर्न सकिन्छ’ उनले भनिन्, ‘प्लास्टिकजन्य सामग्री सकेसम्म कम प्रयोग गरौ । पुन प्रयोग गर्न सकिने वस्तुलाई प्राथमिकता दिनुपर्छ ।’
पोखरा महानगर–९ मा आयोजना गरिएको उक्त तालिममा २५ जना सहभागी थिए । पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरुङले पोखरा पर्यटकीय शहर घोषणा भएकोले पनि स्वच्छ तथा सफा वातावरण बनाउन सबै नागरिक सचेत हुनुपर्ने बताइन् । टोलटोलमा सचेतनामुलक कार्यक्रम गर्न यस्ता तालिम अत्यन्तै महत्वपूर्ण हुने उनको भनाई थियो । महानगरको कृषि महाशाखा प्रमुख मनहर कडरियाले घरबाट उत्पादन हुने फोहोर व्यवस्थापन गर्न सकेमात्र हराभरा पोखरा बनाउन मद्दत पुग्ने बताए । तालिममा सहभागी कान्ति अधिकारीले घरको कुइने फोहोरलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा बुझ्ने अवसर पाएकाले तालिम फलदायी बनेको बताइन् । आगामी दिनमा महानगर र वार्डमा समन्वय गरि टोलटोलमा फोहोरलाई मोहरमा बदल्न सचेतना कार्यक्रम गर्न यस तालिमले मद्दत पुग्ने उनको भनाई छ ।
तालिममा विभिन्न वडाका अध्यक्षहरुले अनुगमन गरेका थिए । अनुगमनको क्रममा फोहोर व्यवस्थापन पोखरामा पनि जटिल भएको अवस्थामा यस तालिम अत्यन्तै महत्वपूर्ण भुमिका खेलेको बताउँदै उनीहरुले आगामी दिनमा थप बजेट बिनियोजन गर्नका लागि आफुहरु तयार रहेकोे बताएका थिए ।
प्रमुख प्रशिक्षकको भूमिका निभाएकी ज्ञानु आचार्यले पोखरा महानगरपालिकाले समयमै फोहोर व्यवस्थापनको लागि जैविक र अजैबिक फोहोरको वर्गीकरण गरि सोहि अनुसार जैविक फोहोरलाई कम्पोष्टिङ गर्ने, पुन चक्रण गर्न सकिने फोहोरलाई बिक्री गर्ने, पुन चक्रण गर्न नसकिने अस्पतालजन्य फोहोरलाई ल्यान्डफिल साईडमा पठाउने र नागरिकले पनि सोहि बमोजिम दायित्व पूरा गर्न सकेमा मात्र यो तालिमको प्रभाव रहनेमा जोड दिएकी थिइन ।
नेपाल विकास समाज कार्यकारी प्रमुख गिता शाहले आगामी दिनमा पोखरा महानगरपालिकाले घर बनाउनु अघि नै कम्पोष्ट रिङ राख्ने स्थान अनिवार्य हुने व्यवस्था गरेमा जैविक फोहोर व्यवस्थापनमा कम चुनौती हुने बताइन् ।