गण्डकी प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले कुमार खड्काले अघि सारेका योजनालाई पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पाँच दलिय गठबन्धनबाट कास्की क्षेत्र नम्बर २ को प्रदेशसभा सदस्य २ का प्रत्यक्ष उम्मेदवार बनेका थापाले आफु क्षेत्र २ को विकासमा दत्त चित्त भएर लागि पर्ने बताएका छन् । पोखरा महानगरपालिका–१६ स्थित बाटुलेचौरमा कोणसभा गर्दै उक्त कुरा बताएका हुन् । क्षेत्र २ मा कांग्रेसको जित निश्चित देखेपछि विभिन्न तरिकाले कुमार खड्कासँग जोडेर कांग्रेसलाई हराउने षडयन्त्र बुन्ने काम भएकोसमेत उनले बताए ।
थापाले वडा १६ मा उर्लिएर आएको जनताको उत्साह र जोशले चुनाव जितको नजिक पुगेको अनुभव आफुले गरेको समेत बताए । उनले यस अघिको चुनावी रेसमा पार्टीले २०७४ सालको नतिजालाई हेरेर आफुलाई टिकट दिएको र त्यहि कुरालाई लिएर अहिले केहि व्यक्तिले गलत तरिकाले अफवाह फैलाएको समेत बताए ।
विन्दु थापा उम्मेदवार भन्दा पनि कांग्रेस उम्मेदवार भएको अभिव्यक्ति उनको थियो । कांग्रेसले जित्नु भनेको गठबन्धनले जित्ने विषय भएको उनले बताए । सोही क्रममा पछिल्लो समय निकै चर्चामा आएको कुमार खड्का र आफुबीचको बारेमा स्पष्ट पार्दै उनले निकै ठूलो अफवाह फैलाउने काम भएको बताए ।
‘कुमारजी र मेरो बीच धेरै अफवाह फैलाइयो । एउटै खाटमा सुत्दा ठोक्किन्छ नै । हामी बीच दुस्मनी छैन हामी मित्र हौं । उहाँ बौद्धिक व्यक्ती हुनुहुन्छ’ उनले भने, ‘उहाँले (कुमार खड्का) यहाँ धेरै काम गर्नुभएको छ । उहाँले अघि सारेको योजनालाई पूरा गर्ने जिम्मा मेरो हो ।’ उनले बुधबार राति आफु घरदैलो कार्यक्रमको बेला गायक बस्तिमा गई फर्कने क्रममा आफुमाथि नियोजित तरिकाले दुव्र्यवहार भएको बताए ।
‘हामीले गायक बस्तिमा घरदैलो सकाएर आएका थियौँ । मेरो गाडी भएको ठाउँसम्म हिडेर गएका थियौँ साझँको करिब साढे सात बजेको थियो’ उनले भने, ‘म माथी ठूलो दुर्ववहार भयो । हामी स्वस्थ प्रतिस्पर्धामा जानुपर्छ ।’ उनले आफुमाथि पैसा दिएको भन्ने आरोप लागेको र कसैले एक हजार रुपैयाँमात्र बाडेको सप्रमाण देखाएमा आफुले तत्कालै राजनीतिबाट शन्यास लिने बताए ।
