कृषि, पर्यटन, शिक्षा स्वास्थ्य र पूर्वाधार प्राथमिकता

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जाको बिरुवा गाउँपालिका स्याङ्जाका प्रमुख प्रशासकिय अधिकृत हुनुहुन्छ कुलराज सुवेदी । जिल्लाको उत्तर पुर्बी भागमा अबस्थित यो गाउँपालिकाले कृषि, पर्यटन, स्वास्थ्य तथा पुर्बाधार बिकासलाइ प्राथमिकतामा राखी महत्वपुर्ण काम गरिराखेको छ । प्रस्तुत छ प्रमुख प्रशासकिय अधिकृत सुवेदीसंग हाम्रा प्रतिनिधिले गरेको कुराकानीको सम्पादित अंसः
प्रश्नः नमस्कार प्रतितपत्र अनलाइनमा यहाँलाई हार्दिक स्वागत छ ।
उत्तरः धन्यबाद ।
प्रश्नः गाउँपालिकाको गतिबिधीहरु के कसरी अगाडि बढेका छन ?
उत्तरः गाउँपालिकाका गतिबिधिहरु सुचारु रुपमा अगाडि बढेका छन । यस आवका अधिकांश योजना सम्झौता भैसकेका छन । कार्यालयले ठेक्कामार्फत अगाडि बढाउनुपर्ने योजना सबैको ठेक्का सम्पन्न गरेको छ ।
प्रश्नः गत आवमा बिरुवा गाउँपालिकाको पुँजिगततर्फ कति प्रतिशत बजेट खर्च भयो ?
उत्तरः गत आर्थिक वर्षको लामोसमय कोरोनाको महामारी रह्यो । अझ मुख्य खर्च हुने अन्तिम चौमासिकमा त लकडाउन नै भयो । मुख्य समयमा निर्माण सामाग्री र मजदुरको अभाब रह्यो । त्यसका बाबजुत पनि बिरुवा गाउँपालिकाले गत आवमा ८० प्रतिशत बजेट खर्च गरेको छ ।
प्रश्नः आव २०७७/७८ मा गाउँपालिकाले के कस्ता कार्यक्रम सन्चालनमा ल्यायो ?
उत्तरः यस आवमा बिरुवा गाउँपालिकाले कृषि, पर्यटन, स्वास्थ, पुर्वाधार तथा शिक्षालाइ प्राथमिकता दिएर बजेट निर्माण गरेको थियो । कोरोना नियन्त्रणको लागि आइसोलेसन, क्वारेन्टाइन सन्चालन, बिरामिको उपचार, कन्ट्र्याक ट्रेशिङ लगायतको कार्यमा झन्डै ५० लाख रुपैया खर्च भएको छ । कृषितर्फ नमुना कृषि तथा कृषक अनुदान कार्यक्रममार्फत कृषिमा व्यवसायीकरणका लागि प्रयास गरिएको छ ।

यी दुइवटा कार्यक्रममा झन्डै १ करोड १५ लाख रुपैयाँ खर्च भएको छ । सडकतर्फ टारा–सामडाडा–मिलनचोक सडक, ललाङ–तर्ले–कुशुमभन्ज्याङ तथा भन्ज्याङ बाहु बिरुवा सडकको स्तरोन्नति गरिएको छ । विभिन्न ३ वटा विद्यालयमा नयाँ भवन र एउटा विद्यालयमा छात्राबास भवन निर्माण भएको छ ।
प्रश्नः यस आर्थिक बर्षमा गाउँपालिकाको बजेटमा के कस्ता कार्यक्रम समाबेश गरिएको छ ?
उत्तरः निर्बाचित जनप्रतिनिधिको कार्यकालको अन्तिम बर्ष भएकोले अघिल्ला बर्षदेखि शुरु भएका तर पूरा नभएका योजनालाइ सम्पन्न गर्नलाइ जोड दिइएको छ । प्राथमिकताको कुरा गर्दा कृषी, सडक, स्वास्थ्य, शिक्षा, पर्यटनलाई जोड दिइएको छ ।
प्रश्नः यसबर्ष सम्पन्न हुने महत्वपुर्ण योजना के के छन ?
उत्तरः गाउँपालिकाको प्रशासकिय भबन यो आर्थिक बर्षमा निर्माण सम्पन्न हुने छ । वडा न ४ र ८ को वडा कार्यलय भबन निर्माण सम्पन्न हुनुको साथै वडा न ३ को वडा कार्यलय भबन निर्माणको काम शुरु हुने छ । निर्माणाधिन २ वटा सामुदायिक स्वास्थ्य केन्द्र र थप ५ वटा सामुदायिक भबनहरु यो बर्षमा निर्माण सम्पन्न हुनेछन । भञ्ज्याङ् बाहु बिरुवा सडकको ठेक्का प्रकृया सम्पन्न भएर सम्झौता हुने तयारीमा छ ।

एकघर एकधारा अभियान अन्तर्गत बृहत् बिरुवा खानेपानी योजनामार्फत झन्डै २ सय ५० घरधुरीलाइ धारापोस्ट र मिटरसहितको खानेपानी सुबिधा उपलब्ध गराइने छ । बिरुवा गाउँपालिकामा बाँकी रहेका खरका छाना भएका सबै घरहरुलाइ यसैबर्ष पुर्णरुपमा टिनका छानाले बिस्थापित गरिने छ ।

प्रश्न: कृषी क्षेत्रलाइ सम्बोधन गर्ने गरि के कस्ता कार्यक्रम राखिएको छ ?
उत्तरः नमुना कृषी, कृषक अनुदान जस्ता पुराना कार्यक्रमलाइ निरन्तरता दिइएको छ । बर्ष भरिनै धान, मकै, आलु, तरकारी आदिको बिउबिजन ५० प्रतिशत अनुदानमा बितरण गर्ने गरि बजेट बिनियोजन गरिएको छ । कृषकको मागलाइ ध्यान दिदै कृतिम गर्भधानको शुरुवात गरिएको छ । पुराना पकेट क्षेत्रको निरन्तरताको साथै थप दुईवटा पकेट क्षेत्र सन्चालन गर्ने योजना छ । बिरुवा बजारमा कृषी उपज संकलन केन्द्र निर्माण गर्ने कार्य शुरु हुन लागेको छ । कृषि शाखामा थप जनशक्तिको ब्यवस्था गरिएको छ ।
प्रश्नः शिक्षा क्षत्रमा के कस्ता सुधारको पहल गर्नुभएको छ ?
उत्तरः सामुदायिक विद्यालयका शैक्षिक सुधारको लागि प्रधानाध्यापकहरुसंग गाउँपालिकाले ३ बर्षको लागि कार्यसम्पादन सम्झौता गरेको छ । यस्तो सम्झौता गर्ने स्याङ्जा जिल्लामा हामी पहिलो स्थानिय तह हौ । सबै माध्यमिक विद्यालयमा इ हाजिरिको प्रबन्ध गरिएको छ । विद्यालयमा कालोपाटी बिस्थापन गर्नुको साथै कम्प्युटर नभएका ११ वटा विद्यालयमा यसैसाल सो को प्रबन्ध गर्ने कार्य अगाडी बढेको छ । स्थानिय पाठ्यक्रम तयार भइ पाठ्यपुस्तक तयारिको क्रममा रहेको छ ।
प्रश्नः गाउँपालिकाको आन्तरिक आम्दानीको अबस्था कस्तो रहेको छ ? आम्दानीका श्रोतहरु के के हुन ?
उत्तरः गाउँपालिकाको आन्तरिक आम्दानिको अबस्था त्यति सन्तोषजनक छैन । गत आर्थिक बर्षमा ६० लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखिएकोमा लक्ष्य भन्दा केही राजस्व जम्मा भएको छ । ढुङ्गा गिटि कर, सडक प्रयोग कर, एकीकृत सम्पती कर, ब्यवसाय कर तथा मालपोत नै आन्तरिक आम्दानिका मुख्य श्रोत हुन ।
प्रश्नः तपाइ गाउँपालिकाको प्रशासकिय प्रमुखको रुपमा रहनुभएको पनि लामोसमय भयो । काम गर्ने शिलसिलामा राजनैतिक दबाब तथा अन्य अफ्ठ्याराहरु आउने गरेका छन कि छैनन ?
उत्तरः गाउँपालिका जनताको सबैभन्दा नजिकको सेवा केन्द्र हो । यो संघ तथा स्थानिय तहको बजेट कार्यान्वयन गर्ने एकाइ समेत हो । बिबिध राजनैतिक स्वार्थहरु हाबी हुने स्थानिय तहमा बेलामौकामा राजनैतिक दबाब तथा अफ्ठ्याराहरु नआउने पनि हैनन । तर, बिधमान् ऐन तथा कानुनको परिधीभित्र रहेर ती समस्यालाइ समाधान गर्ने गरिएको छ । सायद नजिकिदो स्थानिय तहको निर्बाचनको कारणले होला पछिल्ला दिनमा भने स्थानिय तहमा राजनैतिक द्धन्द्ध बढ्दो अबस्थामा रहेको छ ।
प्रश्नः अन्त्यमा, तपाईले भन्न चाहेको मैले सोध्न छुटेका कुरा केही छन कि ?
उत्तरः त्यस्तो छुटेकै बिषय त खासै छैनन् । बिरुवा गाउँपालिका र यसका बिबिध गतिबिधिहरुबारे आफ्नो बिचार राख्ने अबसर दिनुभएकोमा तपाईं लगाएत सम्पुर्ण प्रतिपत्र टिमलाइ हार्दिक धन्यबाद दिन चाहान्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *