केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गरिने भएको छ । यसका लागि चिनियाँ प्राविधिक टोली नेपाल आइसकेको छ । उक्त टोलीले एक साताभित्रमै ‘फिल्ड सर्भे’को काम थाल्ने भएको हो । गत मंगलबार सम्भाव्यता अध्ययनका लागि काठमाडौं आएको टोलीले पहिलो चरणमा फिल्ड सर्भेको काम गर्ने रेल विभागले जनाएको छ । विभागका अनुसार चिनियाँ टोलीसँगै विभागको प्राविधिक टिम पनि फिल्ड सर्भेमा जाने छ । सर्वेको लागि ६ जनाको टोली रहेको छ ।
चीन र नेपालको संयूक्त टोलीले फिल्ड सर्भे गरेर आएपछि संभाव्यता अध्ययन प्रक्रिया अगाडि बढाइने छ । ‘चीनबाट आएको प्राविधिक टोली अहिले आन्तरिक व्यवस्थापनमा छ । आन्तरिक व्यवस्थापनको काम सकिना साथ फिल्ड सर्भेमा जाने छ । त्यसपछि टोलीले तीन हप्तासम्म नेपाल बसेर फिल्ड सर्भे गर्ने छ र करिब डेढ महिनाका लागि चीन फर्कने छ ।
यसअघि गरिएको पूर्वसम्भाव्यता अध्ययनमा प्रारम्भिक विषय मात्र आएकाले अब हुने सम्भाव्यता अध्ययनबाट रेलमार्गको वास्तविक दूरी, लागत, सुरुङ, पुलको उचाइ, स्टेसनलगायत विषय टुंगिने छ । २०७८ चैतमा काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्न दुई देशबीच औपचारिक सहमति भएको थियो । चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका बेला दुई देशका उच्च अधिकारीबीच छिट्टै अध्ययन गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
त्यसपछि अध्ययनका लागि चिनियाँ टोली आएन । २०७६ असोजमा चीनका राष्ट्रपति सी चिनफिङले गरेको नेपाल भ्रमणका क्रममा सम्भाव्यता अध्ययन सुरु गर्नेबारे सहमति जुटेको थियो । उक्त समयमा रेलमार्गको काम चाँडै सुरु गर्नेबारे दुवै देशका उच्च अधिकारी तयार थिए । प्रारम्भिक अध्ययनअनुसार रसुवागढीदेखि काठमाडौंसम्म ७२ किलोमिटर दूरी रहने रेलमार्गमा ९८ प्रतिशत पहाड पर्ने छ । जसलाई छेडेर रेलमार्ग बनाइनेछ । यसको अध्ययन चीनले आफ्नै खर्चले गर्ने छ । उक्त रेलमार्ग निर्माण गर्न २ खर्ब ७१ अर्ब ३६ करोड ८० लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ ।
