कास्कीको माछापुच्छे गाउँपालिकामा करिब ३१ दिन लगाएर छायाँकन गरिएको चलचित्र ‘प्रसाद २’ गएको एक हप्ता देखि विवादमा मुछिएको छ । चलचित्र टीममाथी कोरस डान्सर सपना महर्जन ढल्दा बेवास्ता गरेको आरोप लगाइएको छ । जसको खण्डन गर्दै आइतबार पोखरामा ‘प्रसाद २’ टीमले पत्रकार सम्मेलन नै गरेको छ ।
‘प्रसाद २’ को एउटा गीतको छायाँकनका लागि पोखराबाट ९ जना डान्सर बोलाइएको थियो । जसमा सपना महर्जन पनि थिइन् । गीतको छायाँकनको क्रममा महर्जन बेहोस भएर ढलेपछि पनि चलचित्र टीमले कुनै वास्ता नगरेको आरोप सामाजिक संजाल टिकटक मार्फत गिभिना मगरले लगाएकी थिइन् ।
छायाँकनको समयमा डान्सरहरुलाई गरिएको बेवास्ता, खाना समयमा नपाएको गुनासो, उपचारमा सहयोग समेत नगरेको अवस्थालाई चित्रित गर्दै सामाजिक अभियन्ता समेत रहेकी गिभिना ‘प्रसाद २’ टीम माथि खनिएकी थिइन् । जसको खण्डन गर्दै ‘प्रसाद २’ टीमले सामाजिक सञ्जालमा आएका सबै कुरा मिथ्या भएको जनाएको छ ।
चलचित्रका निर्देशक सुदर्शन थापाले चलचित्रलाई असफल बनाउन आफुहरु माथी गम्भिर प्रकृतिको आरोप लगाइएको बताएका छन् । ‘बहिनी सपना महर्जनको विषयलाई लिएर जसरी सामाजिक संजालमा टिप्पणी गरिएको छ । यस प्रति हाम्रो ध्यानाकर्षण भएको छ । कोरस डान्स गर्नुभएकी बहिनीको स्वास्थ्य लाभका लागि चलचित्र टीमले सक्दो सहयोग गरिरहेको छ’ उनले भने ।
थापाले सत्यता के हो त्यसको सोधखोज नगरीकन ‘प्रसाद २’ को विषयमा फैलाइएको अफवाह गलत भएको उल्लेख गरेका छन् । पौष ३० गते साढे ४ बजे सुटिङ सकेर होटलको रुम तर्फ लागेपछि सपना बहिनीको स्वास्थ्य अवस्था अचानक बिग्रेको खबर आफुले पछि मात्रै जानकारी पाएको अभिव्यक्ति उनको छ । ‘सपना बहिनीको स्वास्थ्य अवस्था सुटिङको समय सम्म ठिक थियो । सुटिङ सकेर प्याकअप गरिसकेपछि हामी सबै बसोबास गरिरहेको होमस्टे तर्फ लाग्यौं । बेलुका खाना खाइसकेपछि डान्सर बहिनीहरु आफु बसीरहेको होमस्टेमा रमाइलो गर्नुभएको रहेछ । जहाँ नाच्ने गाउने कार्यक्रम पनि भइरहेको थियो । सोहि क्रममा बहिनी सपना महर्जन अचानक ढल्नुभएछ । अन्य बहिनीहरुद्वारा सपना बहिनीको स्वास्थ्य अवस्थाको विषयमा जानकारी पाएपछि कलाकार प्रकाश घिमिरे दाईले नै चिसोका कारण होला भन्दै तेल तताउन लगाएर मालिस गर्न लगाउनुभयो । त्यति गर्दा पनि ठीक नभएपछि राती नै चलचित्रकै टीमले गाडीको व्यवस्था गरेर उपचारका लागि पोखरा पठाएको थियो । अनि कसरी चलचित्र टीमले वास्ता गरेन भन्ने हुन्छ ?’ उनले भने ।
थापाले सपना महर्जनको स्वास्थ्य प्रति आफु र सम्पूर्ण टीम नै चिन्तित रहेको बताएका छन् । साथै महर्जनको उपचारका लागि आर्थिक सहयोगको समेत व्यवस्था गर्न लागेको जानकारी गराएका छन् । चलचित्र टिमले महर्जनकै उपचारका लागि नेपाल नृत्य संघलाई ५१ हजार रुपैयाँ हस्तान्तरण गरिसकेको छ । तर त्यो पैसा उपचार गराइरहेकी सपनाको हातमा पुगेको छैन । यस विषयमा थापा भन्छन्,‘नेपाल नृत्य संघले अन्य संघसंस्थाबाट पनि फन्ट कलेक्सन गरिरहेको छ । हामी पनि लागिरहेका छौं । बहिनीको उपचार पोखरामा हुन सक्दैन भने काठमाडौंमा लगेर उपचार गराउन समेत हामी पछाडि फर्किनौं । एउटा कलाकारको स्वास्थ्य माथि खेलवाड गरेर हामीलाई चलचित्र चलाउनु छैन । बहिनीको उपचारमा कुनै कसर बाँकी राख्दैनौं । तर कृपया मिथ्या समाचार र सुचनाको पछाडी नलाग्न अनुरोध गर्दछु ।’, उनले भने ।
कलाकार प्रकाश घिमिरेले पनि सपना महर्जनको स्वास्थ्यलाई लिएर ‘प्रसाद २’ टीम माथि लगाइएको आरोप गलत भएको बताएका छन् । ‘म आफै प्रत्यक्ष त्यहाँ उपस्थित छु । हामीले नै कोर्डिनेसन गर्दै सपना बहिनीलाई उपचारका लागि पोखरा पठाएका छौं । अनि कसरी चलचित्र टीमले केही गरेन भन्ने कुरा आयो । मलाई अचम्म लाग्यो । सामाजिक संजालमा ‘प्रसाद २’ लाई लिएर आएका विषयमा सत्यता छैन ।’, उनले भने ।
चलचित्रका निर्माता सुभाष थापाले सपना महर्जनको स्वास्थ्य प्रति आफु गम्भिर रहेको बताएका छन् । ‘कोरस डान्सर सपना बहिनीको स्वास्थ्य प्रति म र मेरो टीम गम्भिर छ । उहाँको उपचार पोखरा हुन सक्दैन भने पनि काठमाडौं लगेर हामी उपचार गराउँछौं । तर सामाजिक संजालमार्फत हामी माथि लगाइएको आरोपको भने कुनै सत्यता छैन ।’,उनले भने ।
सपनाकी साथी एलिसा तामाङले पनि चलचित्र ‘प्रसाद २’ टीमको सहयोगमा नै आफुहरुले महर्जनलाई उपचारका लागि पोखरा ल्याएको बताएकी छिन् । ‘सपना पहिले देखि नै बिरामी हुँदै आएको हो । त्यो दिन एक्कासी उसको टाउको दुख्यो । बोमिट गर्न थाल्यो । चिसो होला भन्दै हामीले तेल तताएर पैतला मालिस गर्यौं । तर केही सुधार नभएपछि चलचित्र प्रसाद २ को टीमको सहयोगले नै पोखरा ल्यायौं । रातको समय भएकाले हामीले घरमा नै उसलाई लग्यौं । घरमा जाँदा उल्टै हामीलाई खानामा केही मिसाएको दोष लगाइयो । खासमा सपनाको खानपिनमा पहिले देखि नै समस्या भएकाले स्वास्थ्य अवस्था जटिल बनेको रहेछ । जुन कुरा मेडिकल रिर्पोटले पनि साबित गर्ला ।’,उनले भनिन् । चलचित्र ‘प्रसाद २’ नयाँ वर्ष बैसाख १ मा रिलिज हुँदैछ । जसमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।
