गण्डकी प्रदेशमा १८ वर्ष भन्दा कम उमेरका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । गण्डकीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेशका ११ वटै जिल्लामा पहिलो डोज लगाएर पनि दोस्रो डोजको अभियान सुरु गरिएको हो ।
मन्त्रालयका अनुसार १८ वर्षभन्दा कम अर्थात १२ देखी १७ वर्षसम्मका ६३ हजार ७ सय ८१ जनाले पहिलो डोज लगाए भने ३ हजार ५७ जनाले दोस्रो अर्थात पुरा डोज लगाएका छन् । गण्डकीमा बालबालिकाको लागि फाइजर र मोर्डना खोप लगाइएको छ । मन्त्रालयले बालबालिकाको लागि खोप लगाउने अभियान चलिरहेकाले कुन जिल्लामा कतिले लगाए भन्ने तथ्यांक भने आइनसकेको जनाएको छ ।
कार्तिक २८ बाट फाइजर खोप लगाउन सुरु गरिएको थियो भने पुष २ बाट मोर्डना खोप लगाउन सुरु गरिएको स्वास्थ्य मन्त्री मधु अधिकारीका नीजि सचिव शम्भु चापागाईले जानकारी दिए । उनका अनुसार कास्की र बाग्लुङमा फाइजर खोप लगाइएको छ भने, बाँकी ९ जिल्लामा मोर्डना खोप लगाइएको छ । सरकारले १८ वर्ष मुनिकालाई खोप लगाउने अभियान ५७ जिल्लामा चलाएको छ । जस अन्तर्गत गण्डकीका ११ वटै जिल्लामा यो अभियान संचालन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्याङ्जा घर भई पोखरा बसेर अध्ययन गर्ने विपना पोखरेलले पहिलो डोज लगाएको बताइन् । ‘दोस्रो डोज लगाउनै बा“की छ’ कक्षा ९ मा अध्ययनरत पोखरेल भन्छिन, ‘खोप लगाउदा सुरुमा डर लागेको थियो पछि केही भएन । दुई तिन दिनमात्रै हात दुख्यो ।’ उनले कोरोना महामारी आएको लोमोसमयपछि खोप लगाउन पाएकोमा खुशी व्यक्त गरिन् । ‘हामीले खोप लगाउन पाइदैन जस्तो लागेको थियो ढिलै भएपनि खोप लगाउन पाएयौ’ उनले भनिन् ।
गण्डकी प्रदेशमा १८ वर्ष भन्दा माथिका १४ लाख ९२ हजार ४ सय ५१ जनाले पहिलो डोज लगाएका छन् भने ११ लाख ८० हजार १ सय ५९ जनाले दोस्रो अर्थात पुरा डोज लगाएका छन । स्वास्थ्य मन्त्रालयले सातवटै प्रदेशमध्ये खोप लगाउनेमा सवैभन्दा बढी गण्डकीमा रहेको दावी गरेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा खिमबहादुर खड्काका अनुसार सबै ११ जिल्लाका ८८ प्रतिशतले पहिलो डोज खोप पाइसकेका छन् ।
