क्रियापुत्रीसहित गण्डकीमा ४१ हजारले दिए एसईई

Share this post :

Facebook
Twitter
WhatsApp

दुई क्रियापुत्रीसहित गण्डकी प्रदेशबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन ४१ हजार २ सय ३६ परीक्षार्थी सहभागी भएका छन् । शिक्षा विकास निर्देशनालयका अनुसार स्याङ्जाको पुतलीबजार नगरपालिका–४ स्थित सरस्वती मावि परीक्षा केन्द्रमा दुई क्रियापुत्री परीक्षामा सहभागी भएका हुन् । बाबुुको मृत्यु भएको चार दिनको दिन फेदीखोला गाउँपालिका–४ घर भई सिदार्थ माविमा अध्ययनरत संगम र सौगात क्षेत्री (दाजुभाई) सहभागी भएका हुन् ।

कुल विद्यार्थीमध्ये नियमिततर्फ ३९ हजार ४२ जना परीक्षार्थी छन् । त्यस्तै, प्राविधिकधारतर्फ १ हजार ३ सय ९० र बाँकी ग्रेड वृद्धितर्फका रहेका छन् । शिक्षा विकास निर्देशनालयका निमित्त महानिर्देशक अम्बिकाप्रसाद आचार्यका अनुसार ३ सय १ जना परीक्षार्थी अनुपस्थित भएका थिए । ३ सय १ जना अपांगता भएका परीक्षार्थी थिए ।

आचार्यका अनुसार १ हजार ३ सय ३२ विद्यालयलाई २ सय १४ परीक्षा केन्द्र कायम गरी परीक्षा सञ्चालन गरिएको छ । उक्त परीक्षा सञ्चालनका लागि २ सय १४ जना केन्द्राध्यक्ष, ३ सय ७२ जना सहायक केन्द्राध्यक्ष, २ हजार १ सय ४४ जना निरिक्षक, ५ सय १८ जना परीक्षा सहायक, ९ सय २३ कार्यालय सहयोगी र करिब ३ हजार २ सय १० जना सुरक्षाकर्मी खटिएका छन् । प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला परीक्षा व्यवस्थापन समिति गठन गरिएको छ । सोही समितिले परीक्षाको आवश्यक व्यवस्था गर्ने निर्देशनालयले जनाएको छ ।

२४ माघ २०७८ मा राष्ट्रिय परीक्षा वोर्ड नियमावलीमा पहिलो संसोधनले सवै प्रदेशमा एसईई परीक्षालाई थप व्यवस्थित र मर्यादित बनाउन प्रदेशको शिक्षा हेर्ने सचिवको अध्यक्षतामा पाँच सदस्यीय प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति गठन गरेको छ । सोही प्रावधान अनुसार गण्डकी प्रदेशमा पनि सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिवको अध्यक्षतामा समिति गठन भएको छ । उक्त समितिले परीक्षालाई स्वच्छ, स्वस्थ, मर्यादित र शान्तीपूर्ण एवं् भयरहित वातावरण सृजना गरी परीक्षा सञ्चालन गर्न सवै जिल्लामा पत्राचार गरेको जनाएको छ ।
निर्देशनालयका अनुसार विहीवारदेखी सुरु भएको यसवर्षको एसईई परीक्षा गण्डकीका एघारवटै जिल्लामा संचालन भएको छ । विहान ८ बजेदेखि सुरु भएको पहिलो दिन अंग्रेजी विषयको परीक्षा संचालन गरिएको थियो । एसईई चैत २७ गतेसम्म संचालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *