नेपाली काँग्रेसले प्रतिनिधिसभा निर्वाचनमा खाता खोलेको छ । मुस्ताङमा काँग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् । देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये सोमबार मुस्ताङमा पहिलो मतपरिणमा आएको हो । २९ वर्षिय योगेशले एमालेका पूर्वसांसद ६० वर्षिय प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन् ।
नवनिर्वाचित योगेश कांग्रेसका जिल्ला सभापति एवं पूर्वसांसद रोमी गौचन थकालीका छोरा हुन् । गौचनले ३ हजार ९ सय ९२ मत प्राप्त गरेका छन् भने एमालेका तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका हुन् । २०७४ को निर्वाचनमा एमालेका तुलाचनले कांग्रेसबाट उम्मेदवार बनेका रोमी गौचनलाई पराजित गरेका थिए । एउटा मात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुदेश गुरुङले ८७ मत ल्याएका छन् ।
२०७४ मा मुस्ताङमा तत्कालीन वाम गठबन्धनबाट उम्मेदवार बनेका तुलाचनले ३ हजार ५ सय ४४ मत ल्याएका थिए । रोमी गौचनले भने ३ हजार १ सय ८१ मत प्राप्त गरेका थिए । यसपटक योगेश कांग्रेस र माओवादी केन्द्र लगायत गठबन्धनको तर्फबाट साझा उम्मेदवार थिए ।
