खुम्चियो महिला नेतृत्व

Share this post :

Facebook
Twitter
WhatsApp

२०७४ को स्थानीय तहको निर्वाचनमा महिला नेतृत्व पाएको स्याङ्जाको पुतलीबजार नगरपालिकाले यसवर्ष महिला नेतृत्व गुमाउन पुग्यो । निवर्तमान मेयर एमालेकी सीमा क्षेत्री पुनः मेयरको उम्मेदवार थिइन् । क्षेत्रीलाई कांग्रेसका तुलसीराम रेग्मीले पराजय गरे ।
५ वर्ष अघिका प्रतिस्पर्धी समेत हुन उनीहरु । यस्तै, कांग्रेसले स्याङ्जाकै कालीगण्डकी गाउँपालिकामा प्रमुख पदमा महिला उम्मेदवार बनाएको थियो । एमालेका खिम थापाले उनलाई पराजय गरेपछि कालीगण्डकीले पनि महिला नेतृत्व पाउन सकेन् । अर्जुनचौपारी गापामा पनि एमालेले अध्यक्ष पदका लागि महिला उम्मेदवार बनायो । कांग्रेस निर्वाचित भएसँगै महिला नेतृत्व गुम्न पुग्यो । अघिल्लो निर्वाचनमा महिला नेतृत्व पाएको तनहुँको म्याग्दे गापा र म्याग्दीको धौलागिरी गापाले पनि यसवर्ष नेतृत्वमा महिला पाउन सकेन् ।
यी केही उदाहरण मात्र हो । २०७४ को स्थानीय तहको निर्वाचनमा गण्डकी प्रदेशका चार पालिकाले महिला नेतृत्व पाएका थिए । तर, हालै सम्पन्न स्थानीय निर्वाचनमा पहिलाको तुलनामा महिला नेतृत्व झन् खुम्चिन पुग्यो । गण्डकी प्रदेशका ८५ वटा स्थानीय तहमध्ये यसपटक तीन वटामा मात्रै महिला प्रमुखमा निर्वाचित भएका छन् । नवलपुरको हुप्सेकोट गाउँपालिका, पवर्तको मोदी गाउँपालिका र बाग्लुङको बढिगाढ गाउँपालिकाले महिला नेतृत्व पाएको छ । हुप्सेकोटमा कांग्रेसकी लक्ष्मी पाण्डे दोस्रोपटक अध्यक्ष पदमा निर्वाचित भएकी हुन् । मोदीमा एमालेबाट हिरादेवी र बडिगाढमा कांग्रेसबाट गण्डकी थापा निर्वाचित भएका छन् । अघिल्लो निर्वाचनमा स्याङ्जाको पुतलीबजार नगरपालिका, हुप्सेकोट, म्याग्दीको धौलागिरी गापा र तनहुँको म्याग्दै गापामा महिला प्रमुख निर्वाचित भएका थिए । अघिल्लो निर्वाचनमा एउटा नगर र ३ वटा गापा थिए भने यसपटक तिन वटै पालिका गापा रहेका छन् ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार विभिन्न राजनीति दल र स्वतन्त्र गरि गण्डकी प्रदेशभरी पालिका प्रमुखमा ४१ जना महिलाले उम्मेदवारी दिएका थिए । अघिल्लो निर्वाचनमा महिलाले जितेका पालिका पनि यसपटक गुमेका छन् । यस्तै, उपप्रमुख पदमा ६४ जना महिला निर्वाचित भएका छन् । २१ जना पुरुष उपप्रमुख पदमा निर्वाचित भए । उपप्रमुखमा पुरुष निर्वाचित भएका पालिकाका प्रमुख पनि पुरुष नै रहेका छन् । पालिका प्रमुख र उपप्रमुख दुवै पदमा महिला निर्वाचित भएको पालिका भने गण्डकीमा छैन् । दलिय गठबन्धनका कारण महिला नेतृत्वसँगै उपप्रमुख पदमा पनि पुरुषकै हावी देखिएको कांग्रेस गण्डकी प्रदेशकी उपसभापति कल्पना तिवारी बताउछिन् । स्याङ्जाको वालिङ नगरपालिकाको निवर्तमान उपप्रमुख समेत रहेकी उनी स्वंम वालिङको मेयरकी आकांक्षी थिइन् । पार्टीले साविककै मेयर पुनः उम्मेदवार बनाउने निर्णय गरेपछि उनी पछि हटेकी हुन् । उनले दोस्रोपटक उपप्रमुख पदमा रुचि देखाइनन् ।
‘गठबन्धन भएपछि जिल्ला, पालिकामा सवै दल समेट्नुपर्ने, जसका कारण महिला पछाडि परे’ उनले भनिन, ‘गठबन्धनले चुनाव त जितियो, गण्डकीमा कांग्रेसलाई पहिलो पार्टी पनि बनाइयो तर, महिला पिछडिन पर्यो ।’ महिलालाई अझै पनि राजनीति दलले विश्वास गर्ने अवस्था नरहेको सामाजिक अभियान्ता रेखा ताम्राकार बताउ“छिन् । महिलाले चुनाव जित्दैनन्, आर्थिक पक्षमा कमजोर छन् चुनावी खर्च गर्न सक्दैनन् भनेर महिलालाई उम्मेदवार बनाउन आनाकानी गर्ने उनको भनाई थियो । ‘जवसम्म महिलाप्रति विश्वास हुदैन तवसम्म राजनीति दलले नेतृत्वमा महिला पु¥याउदैन’ उनले भनिन् । माओवादी केन्द्रकी गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले पनि चित्त बुझ्दो तरिकाले नेतृत्वमा महिला पु¥याउन नसकिएको बताइन् । गठबन्धनले महिलालाई तल्लो तहमै सिमित बनाएको तर्क उनको पनि छ । गण्डकी प्रदेशका ७ सय ५९ वडामध्ये महिला वडाध्यक्ष जम्मा १८ वटामा मात्र छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *