चीनसँग जोडिएको कोरला नाका सर्वसाधारणका लागि खुला गरिएको छ । कोरला नाका सोमबार खुला गरिएको हो । हिमालपारीको जिल्ला मुस्ताङसँग जोडिएको उक्त नाका गण्डकी प्रदेश अन्तर्गत पर्दछ । यो नाका खुला गरिएसँगै मुस्ताङका स्थानीयबासीले चीनको (नेचुङ–लिजी) बजार आवतजावत गर्न पाउने छन् ।
यसअघि चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि मात्रै कोरला नाका भएर चीन जान पाउने अनुमति थियो । मुस्ताङमा ५ वटा स्थानीय तह छन् । चार वर्षअघि बन्द गरिएको उक्त नाका गत सोमबारदेखी पाँचवटै पालिकाको लागि खुला गरिएको हो । केही समयअघि मुस्ताङ आएका प्रधानमन्त्री प्रचण्डले उक्त नाका सर्वसाधारणका लागि सधैका लागि खुला गर्ने प्रतिबद्धता गरेका थिए । अमेरिकापछि चिन भ्रमण जाने क्रममा प्रम प्रचण्डले यस विषयलाई एजेण्डाकोरुपमा अघि सारेका थिए ।
सर्वसाधरणले प्रस्थान अनुमतिपत्रको आधारमा कोरला नाकाबाट चीन आवतजावत गर्न पाउने छन् । यसअघि जिल्ला प्रशासन कार्यालय मुस्ताङले लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ९८० जनालाई कोरला नाकाबाट चीन प्रस्थान प्रवेशपत्र वितरण गरेको थियो । सहमतिपछि गृह मन्त्रालय र स्थानीय तहसँग समन्वय गरेर थप पालिकाबासीलाई प्रस्थान प्रवेशपत्र वितरणको प्रक्रिया अघि बढाइने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । २०७६ देखि कोरला नाका पूर्ण रुपमा बन्द भएको थियो । त्यसअघिको वर्ष कोरला नाकामा वर्षमा दुई पटक अन्तरदेशिय व्यापार मेला हुने गरेको थियो । वि.सं. २०३२ देखि कोरला नाका आवतजावतमा कडाइ गरिएको थियो ।
विसं २०५८ सम्म रोकतोक नरहेको सीमा विसं २०५९ देखि चीनले तारबार गरेर मेलाबाहेकको अवधिमा बन्द गर्दै आएको थियो । कोरला नाका नियमित सञ्चालन र सबै मुस्ताङबासीलाई आवतजावतको व्यवस्था भएपछि स्थानीयलाई सहज भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा चीनले कोरला लगायत नेपालका १४ व्यापारिक नाका सञ्चालनको तयारी गरेको जनाएको थियो ।
