खुल्यो राप्रपा गण्डकी कार्यालयको ताला

Share this post :

Facebook
Twitter
WhatsApp

राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकीमा १० दिनदेखि लागेको ताला खुलेको छ । राप्रपा कास्की र गण्डकी प्रदेश समितिको संयुक्त प्रयासमा ताला खुलाइएको हो । जिल्ला र प्रदेश कार्यालय एउटै भवनमा भएकाले तालाबन्दीले जिल्ला कार्यालयसमेत प्रभावित भएको थियो ।
राप्रपाले गण्डकी प्रदेश सभामा पाएको २ जना समानुपातिक सांसद कास्की भन्दा बाहिरी जिल्लाबाट छनौट गरिएको भन्दै विवाद चर्किएको थियो । विवादका कारण कास्कीका कार्यकर्ताले पार्टीको जिल्ला कार्यालयमा तालाबन्दी गरेका थिए ।
राप्रपाले गण्डकीमा ५९ हजार ४८३ मत पाएका थिए । प्रत्यक्षमा एउटा क्षेत्र पनि नजितेको राप्रपाले समानुपातिकमा पाएको उक्त मतबाट २ जना सांसद पाएको थियो । गण्डकी प्रदेश सभामा राप्रपाले समानुपातिकबाट प्रदेश अध्यक्ष पञ्चराम गुरुङ र केन्द्रिय सदस्य बिन्दु पहाडी छनौट भएका थिए ।
समानुपातिक सांसद छनौटमा असन्तुष्ट बनेर तालाबन्दी गरेका कार्यकर्तालाई जिल्ला अध्यक्ष नारायण गुरुङले संझाएका थिए ।
राप्रपा गण्डकीका अध्यक्ष गुरुङ र जिल्ला अध्यक्ष नारायण गुरुङले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेपछि ताला खुलेको हो । पार्टीभित्र देखिएका समस्या छलफलबाट समाधान निकाल्ने, आगामी दिनमा त्रुटी सच्याउने र पार्टी कार्यालयलाई चुस्त राख्ने सहमति भएपछि कार्यालय खुलेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए ।
‘लामो समय पार्टी कार्यालय बन्द रहँदा समस्या झनै बढ्छ,’ गिरीले भने, ‘नेता-कार्यकर्तावीच सहमति भएपछि बुधबारदेखि पार्टी कार्यालय खोलेर सुचारु गरिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *