प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले गठबन्धन सरकार पाँचै वर्ष जाने बताएका छन् । गोरखाको वारपाक सुलिकोट गाउँपालिकामा आयोजित जनतासँग अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।
गठबन्धन सरकारको एक वर्षे कार्यकालमा केही रेकर्ड कायम हुने काम भएको बताउदै उनले बाँकी ४ वर्षमा धेरै राम्रा काम गरिने बताए । ‘सरकारले यो एक वर्षे कार्यकालमा केही रेकर्ड कायम हुने केही काम गरेको छ’ उनले भने, ‘नागरिकता समस्या, मिटरव्याजीको समस्या, सामाजिक सुरक्षाको क्षेत्रमा, विकास निर्माणको क्षेत्रमा सरकारले बुढिगण्डकी आयोजना, जलवायु न्यायको विषयमा पर्वतिय देशहरुको नेतृत्व गरिएको छ । एक वर्षमा यति काम भए भने बाँकी ४ वर्षमा त झनै धेरै राम्रा काम हुनेछन् ।’
सरकारले राम्रा कामको सुरुवात गरेको भए पनि गणतन्त्र र परिर्वतन विरोधीले ती काम राम्रा भए भनेर नभन्ने बताउँदै राम्रा कामको प्रचार जनता र परिर्वतन पक्षधरले गर्नुपर्ने प्रधानमन्त्रीको भनाई थियो । प्रधानमन्त्री प्रचण्डले गाउँगाउँमा सिंहदरबारको रुपमा महिला, दलित र सबैको समानुपातिक प्रतिनिधित्व हुने व्यवस्था स्थापना माओवादीले गरेको बताए । यसबाट धेरै राम्रा काम भएका छन् । त्यसको पक्षमा बोल्नुपर्ने र सरकारका राम्रा कामको प्रचार गर्नुपर्ने उनले बताए ।
पछिल्लोसमय परिर्वतन विरोधीले सरकार, गठबन्धन र प्राप्त उपलब्धिका विरुद्ध सडयन्त्र गरिरहेको प्रधानमन्त्रीले बताए । त्यसकै कारण नकारात्मक मात्रै देखाएर अध्यारो मात्रै देखाउने काम गर्न खोजिएको उनको भनाई थियो । यद्यपी त्यस्ता षडयन्त्र र परिर्वतन विरोधि अवरोध छिचोल्न सरकार सफल बनेको प्रधानमन्त्रीले बताए ।
ु‘गठबन्धनकाविरुद्ध विभिन्न षडयन्त्र र धार्मिक द्धन्द्ध सिर्जना गर्न खोजियो । तर, उनीहरुले जतिसुकै बल गरे पनि केही भएको छैन’ उनले भने, ‘हामीले बडो धैर्यताको साथ धार्मिक र अतिवादी प्रयास विफल तुल्यायौं ।’ प्रधानमन्त्री प्रचण्डले पहिलो वर्ष गठबधन परिर्वतन लगायतका विभिन्न अलमलका बजेट निर्माणमा राम्रो ध्यान दिन नसकिएको बताउँदै यो वर्ष बजेट निर्माणमा व्यापक छलफल गरेर जनताको सहभागीता बजेट निर्माणमै गराइने बताए ।
‘निर्वाचन लगत्तै एउटा परिस्थितिमा सरकार बन्यो र मैले त्यो सरकारको नेतृत्व गर्न पाएँ’ उनले थपे, ‘पछि फेरि राजनीतिक कोर्स फेरियो म फेरि गठबन्धनको प्रधानमन्त्री बनें । त्यतिबेलासम्ममा नीति तथा कार्यक्रम बनिसकेको थियो, त्यसैले गत वर्ष पर्याप्त ध्यान पुग्न सकेन । आगामी बजेटमा म उचित सम्बोधनको प्रयास गर्नेछु ।’
नेकपा (माओवादी केन्द्रंको जनतासँग रुपान्तरण अभियान अन्तर्गत अध्यक्ष प्रचण्ड सातवटा प्रदेशका सात वटा वडा जानुपर्ने कार्यक्रम अन्तर्गत वारपाक सुलिकोट गाउँपालिको ८ वडा उनको जिम्मा परेको थियो । सोही कार्यक्रम अन्तर्गत उनी कार्यक्रममा सहभागी हुन् गोरखा पुगेका हुन् ।