सत्ताधारी दलका नेताले व्यक्तिगत राजनीतिक नाफा–घाटा हेरेका कारण गण्डकी प्रदेशमा सत्ता गठबन्धनका दलबीच चुनावी तालमेल हुन् सकेन । सवै दलले आ–आफ्नो शक्ति बढी भएको आकंलन गर्दै, प्रदेश र संसदीय निर्वाचनमा आ–आफ्नो चुनावी क्षेत्रलाई जोगाउने प्रयासले गठबन्धन भत्किएको हो । प्रदेश राजधानी रहेको कास्कीको पोखरा महानगरको प्रमुख र उपप्रमुख पदमा मात्र गठबन्धन भएको छ ।
पोखराको मेयर पदमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कांग्रेसका कोपीला रानाभाटले सोमबार गठबन्धनबाट उम्मेदवारी दर्ता गरे । महानगरकै ३३ वटा वडामा गठबन्धनबीच सहमति जुट्न सकेन् । गठबन्धनका दलले आ–आफ्नो तरिकाले वडाका सवै पदमा उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसले पहिलेबाट नै गठबन्धनको विरोध जनाउदै आएको थियो । यस्तै, कास्कीमा ५ पालिकामध्ये दुई वटामा मात्र गठबन्धन भएको छ । तीनवटा पालिकामा सहमति जुट्न नसकेको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश सभा सदस्य दीपक कोइरालाले बताए । ‘अन्तिमसम्म प्रयास गरिएको हो तर, सहमति जुट्न सकेन’ उनले भने ।
गण्डकी प्रदेशका ८५ वटा स्थानीय तहमध्ये ३८ वटामा मात्रै गठबन्धन भएको छ । जस अन्तर्गत म्याग्दीका ६ पालिकामध्ये १ वटामा मात्र गठबन्धन भएको छ भने, लमजुङका ८ पालिकामध्ये ८ वटैमा, मनाङका ४ मध्ये एउटामा, मुस्ताङका ५ पालिकामध्ये एउटामा, बाग्लुङका १० पालिकामध्ये १० वटामै, पवर्तका ७ पालिकामध्ये ७ वटै, नवलपुरका ८ पालिकामध्ये २ मा, स्याङ्जाका ११ मध्ये ६ वटामा गठबन्धन भएको छ । गोरखाका ११ र तनहु“का १० पालिकामध्ये कुनैमा पनि सहमति जुट्न सकेन् । उम्मेदवार मनोनयनको अन्तिम दिनसम्म पनि दलका नेताहरुले गरेको प्रयास सार्थक हुन नसकेपछि मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गर्दै दलका बैठक सकाएका थिए । गोरखामा केन्द्रबाट नै गठबन्धन गर्ने दबाव आएको भन्दै जिल्लास्तरीय नेताले गठबन्धन गर्न मानेनन् । आइतबार बेलुकासम्म सहमति भएका नेताहरु उम्मेदवारी दर्ता गर्न आ–आफ्नै तरिकाले निर्वाचन अधिकृतको कार्यालय पुगेको स्रोतले जनाएको छ ।
गत स्थानीय निर्वाचनमा एमाले र कांग्रेसको उस्ताउस्तै वर्चस्व थियो । माओवादी तेस्रो थियो । नेपाल कम्युनिष्ट पार्टी हुदा“ गण्डकीमा कम्युनिष्टको वर्चश्व थियो । काँग्रेस आफू एक्लै लड्न सक्ने बताउदै गठबन्धनको आवश्यक नपर्ने बताउदै आएको छ । कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले स्थानीय तहमा आवश्यकता अनुसार गठबन्धन गरिएको बताए । ‘जहाँ गठबन्धनको आवश्यक छैन, गठबन्धन बोझको रुपमा लिएको छ त्यहाँ के गठबन्धन गर्नु’ उनले भने, ‘गठबन्धनको मुख्य सार पोखरा महानगर हो । गठबन्धनका साझा उम्मेदवार जिताउन हामी पार्टीको निर्णय अनुसार भोट हाल्छौ ।’ यता, माओवादी केन्द्रकी प्रदेश अध्यक्ष गायत्री गुरुङले गठबन्धन गर्ने दल विशेषतः कांग्रेस गम्भिर बन्नुपर्ने बताइन् । सोचे अनुरुप गठबन्धन नभएको बताउदै उनले अझै पनि सहमतिको समय बाँकी रहेको बताइन् । ‘हामी अझै पनि गठबन्धनमै जानुपर्छ भन्ने पक्षमा छौ’ उनले भनिन । गण्डकीमा तालमेल विना आ–आफ्नै क्षमताले निर्वाचित हुने सम्भावना सत्तारुढ दलमा कम रहेको आकलन गरिएको छ ।
