गण्डकी प्रदेशका दुई जिल्लामा प्रादेशिक क्रिकेट रंगशाला बनाइने भएको छ । गण्डकी प्रदेश सरकारले नवलपुरको कावासोती नगरपालिका–२ नवदुर्गा खेलमैदान र तनहुँको शुक्लागण्डकी नगरपालिका–८ गाउँफर्कोदय माविको खेलमैदानलाई प्रदेशस्तरीय क्रिकेट खेलमैदान बनाइने भएको हो ।
प्रदेश सरकारको गत चैत ९ मा बसेको मन्त्रिपरिषद्को वैठकले उक्त निर्णय गरेको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलले बताए । उनका अनुसार प्रादेशिकस्तरीय क्रिकेट रंगशाला र एक अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढाउन प्रदेश खेलकुद परिषदले जिल्लाका विभिन्न ६ स्थानका लागि प्रदेश सरकारलाई सिफारिश गरेको थियो ।
रंगशालाका निर्माणाका लागि अध्ययन समिति गठन गरिएको थियो । उक्त समितिले अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझायो । सोही प्रतिवेदनको आधारमा सरकारले दुई स्थानमा प्रदेशस्तरीय रंगशाला निर्माण हुने गरी मन्त्रीपरिषदले निर्णय गरेको हो ।
प्रादेशिकस्तरीय क्रिकेट रंगशाला निर्माणका लागि एक रंगशालाबाट अर्को रंगशालाको दुरी कम्तिमा ४० किमिभित्र हुनुपर्छ । सोही प्रावधान अनुसार नवलपुरको कावासोतीस्थित नवदुर्गा खेलमैदान अन्तर्राष्ट्रिय गौतमवुद्ध क्रिकेट रंगशालाबाट ४० किमिभित्र पर्ने भएकोले पनि उक्त स्थानमा प्रादेशिक क्रिकेट रंगशाला उपयूक्त हुने गरी मन्त्री परिषदले निर्णय गरेको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले बताए । ‘गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि पनि नजिकमा पर्ने अर्को रंगशाला आवश्यक पर्छ । सबै कुराले कावासोती उपयूक्त पनि छ’ उनले भने ।
यस्तै, तनहुँको शुक्लागण्डकीको गाउँफर्कोदय माविको खेलमैदान समेत पोखरा क्रिकेट रंगशालाबाट ४० किमिभित्रै पर्छ । सोही खेलमैदानलाई क्रिकेट मैदान निर्माणका लागि मन्त्री परिषदले निर्णय गरेको छ । प्रदेश सरकारले क्रिकेट मैदान निर्माणका लागि चालु वर्षको विनियोजित ४० लाख रुपैयाँ सोही मैदान निर्माण प्रक्रियाका लागि अघि बढाउने जनाएको छ ।
यी दुवै स्थान प्रादेशिक क्रिकेटका लागि उपयूक्त रहेको शर्मालेब ताए । कावासोतीका लागि त्यहाँको नगरपालिकाले २ सय रोपनी जग्गाका लागि स्विकृत दिएको छ भने शुक्लागण्डकीको लागि गाउँफर्कोदय माविको स्वामित्वमा रहेको करिव १ सय ७३ रोपनी जग्गाको स्विकृति प्राप्त भएको छ ।
परिषदले कार्यकारी सदस्य ऋषीराम गौतमको संयोजकत्वमा ५ सदस्यीय क्रिकेट रंगशाला सम्भव्यता अध्ययन टोली गठन गरेको थियो । टोलीले जिल्लाका विभिन्न स्थलको अध्ययन अवलोकनसंगै स्थानिय सरोकारवालासंग छलफल चलायो । पोखरा महानगरपालिका–१४ भेडीफर्ममा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला र अन्य पाँच स्थानमा प्रादेशिक क्रिकेट रंगशाला निर्माणका लागि सिफारिस गरेको थियो ।
पोखरा–१४ स्थित भेडीफर्मको जग्गाको विषयमा कुनै निर्णय नभएकोले सो बारे मन्त्रीपरिषदले कुनै निर्णय भने गर्न सकेको छैन । परिषदले नेपाल सरकारको कृषि मन्त्रालय अन्तर्गत रहेको उक्त जग्गा भेडीफर्मको चरण एरियासमेत भएकोले हस्तान्तरणका लागि लामो प्रक्रिया अपनाउनुपर्ने भएकोले परिषदले सो को विकल्पमा नयाँस्थानको खोजी कार्य तिव्र रुपमा अघि बढाएको अध्ययन टोलीका संयोजक शर्माले बताए ।
अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला र कभर्डहल निर्माणको लागि उपयूक्त जग्गाको खोजीमा रहेको गण्डकीको प्रदेश खेलकुद परिषदले अन्ततः जग्गा पाउने भएको छ । पोखरा महानगरपालिका–२९ पटनेरीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला र कभर्डहल निर्माणको लागि वडा कार्यालय २९ ले सहमति दिएसंगै परिषदले प्रदेश सरकारलाई निर्माण कार्य अघि बढाउन सिफारिस गरेको हो ।
करिव ४ सय ५० रोपनीमा फैलिएको उक्त जग्गा विगतमा प्रस्तावित पशुपतीघाट क्रिकेट रंगशालाको उत्तरतर्फ पर्दछ । सेती नदीको कारण पशुपतीघाटको निर्माण कार्य अघि बढ्न सकेको छैन् । प्रदेश सरकार विगत तीन वर्षदेखि नयाँ जग्गाको खोजीमा थियो । सरकारले पशुपतीघाटमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणका लागि डिपिआरसमेत तयार गरिसकेको छ ।