गण्डकी प्रदेशका मुख्यमन्त्री सुुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन् । संविधानको धारा १६९ को उपधारा १ बमोजिम मुख्यमन्त्रीले पदबाट राजीनामा दिएका हुन् । प्रदेश प्रमुख डिल्लीराज भट्टलाई राजीनामा पत्र बुझाएका हुन् ।
गत फागुन २३ मा नेकपा माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि काँग्रेसका सुरेन्द्रराज नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।
सरकार अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान अनुसार पाण्डेले चैत २२ भित्र विश्वासको मत लिनुपर्ने थियो । तर मुख्यमन्त्री पाण्डेले विश्वासको मत नलिई पदबाट राजीनामा दिएका हुन् ।
पाण्डे २०८० वैशाख १५ मा मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । चैत २७ गतेसम्म राप्रपाको आफ्नै कार्यक्रम रहेकाले सरकारमा जान्छ या जादैन भन्ने टुंगो नलाग्दा गण्डकी प्रदेशमा पनि कुन दलको नेतृत्वमा सरकार बन्छ भन्ने टुंगो लागेको छैन् । राप्रपाको टुंगो नलाग्दासम्म संसदमा ठूलो दलको हैसियतले पुनः मुख्यमन्त्री हुने योजनाअनुसार पाण्डेले राजीनामा दिएका हुन् ।
६० सदस्यीय गण्डकी प्रदेशमा कांग्रेसको २७ सीट छ । दोस्रो ठूलो दलको हैसियतमा नेकपा एमालेको २२ सीट छ भने, ८ सीटसहित माओवादी केन्द्र तेस्रो स्थानमा छ । राप्रपाको दुई सीट रहेको छ भने स्वतन्त्र सांसदको पनि सहभागीता छ । सरकार बनाउन गण्डकीमा ३१ सीटको आवश्यकता पर्दछ ।