गण्डकीका मुख्यमन्त्री खगराजकाे नियुक्ति बदर माग गर्दै सर्वोच्चमा रिट

Share this post :

Facebook
Twitter
WhatsApp

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीकाे नियुक्ति बदरकाे माग गर्दै नेपाली काँग्रेसले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । गण्डकी प्रदेश कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार सर्वाेच्चमा रिट दायर गराएका हुन् ।

रिटमा मुख्यमन्त्री खगराज अधिकारीकाे नियुक्ति असंवैधानिक भन्दै आफूलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् ।

‘विपक्षीहरुले आफुलाई हकै नपुग्ने बिषयमा अधिकार क्षेत्रात्मक त्रुटि गरी कार्य गर्नुभएको, अधिकारको प्रयोग गर्दा प्रबृत्त भावना लिई गलत ढंगले प्रयोग गरेको निजहरुको बदनियत र स्वेच्छाचारीताका कारणले निवेदक मेरा उपर भेदभाव/अन्याय हुन पुगेको, विपक्षीहरुका प्रत्येक काम कारवाहीहरु छलकपटपूर्ण भएको, मुलुकको संबिधान कानून र स्थापित नजिर परम्परा विपरित देखिएकोले, बिपक्षी खगराज अधिकारीलाई मुख्य मन्त्रीको जिम्मेवारीमा रही कामकाज गर्न रोकी म निवेदकलाई नै उक्त प्रदेशको मुख्य मन्त्री पदमा निरन्तरताका लागी अन्तरिम आदेश सहितको उत्प्रेषणयुक्त परमादेश समेतको आदेश जारी गरी पाऊँ’ पाण्डेले दिएकाेरिटमा उल्लेख गरिएकाे छ ।

‘अधिकारीलाई नियुक्ति गरिएको भनिएको प्रक्रिया आफैमा अन्यत गैर संवैधानिक भएकाले र संबिधानतः म आफु अर्को व्यवस्था नहुन्जेलसम्मको लागी सो प्रदेशको मुख्यमन्त्री रहीरहेको र अन्यले बहुमतको दलिय समर्थन जुटाउन नसक्ने अवस्थामा उक्त धारा १६८(३) बमोजिम मुख्यमन्त्रीमा पुनः नियुक्त हुन पाउने हक समेत म आफुलाई नै हुँदा विपक्षी सभामुखको पदिय मर्यादालाई दलियकरण गरी कब्जाको छनक दिने गरी भए गरिएका निर्णयहरु असंवैधानिक, गैरकानूनी तथा अधिकारक्षेत्र बिहिन भएको हुँदा सो निर्णय र सो निर्णयका आधारमा भए गरिएका सम्पूर्ण काम कारबाहीहरु बदर गरी म निवेदकलाई साविक बमोजिम नै मुख्यमन्त्रीको हैसियतमा कामकाज गर्न दिनु दिलाउनु भनी सम्मानित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदन गर्न आए‌को छु’ रिटमा भनिएकाे छ ।

केन्द्रीय सत्ता समीकरणमा परिवर्तन आएपछि गण्डकीमा काँग्रेस नेतृत्वको सरकार अल्पमतमा परेकाे थियाे । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाउने अवस्था नरहेपछि चैत २१ मा पदबाट राजीनमा दिए । प्रदेश प्रमुख डिल्लीराज भट्टले सात दिनभित्र बहुमतको सरकार गठनका लागि दलहरुलाई दावी पेश गर्न आह्रवान गरेपछि आइतबार एमाले–माओवादी केन्द्र र स्वतन्त्र सांसदको नयाँ समिकरण बनाएर एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्यमन्त्रीमा अघि सारिएकाे थियाे ।

मुख्यमन्त्री दावी गर्दा दलका नेताले मात्र हस्ताक्षर गरेका थिए ।  माओवादीबाट सभामुख रहेका कृष्ण धितालको पनि मुख्यमन्त्रीलाई समर्थन थियो । सभामुख धितालले पदबाट राजीनामा नदिई सरकार बनाउन समर्थन गरेको भन्दै कांग्रेसले असंवैधानिक भनेको छ । काँग्रेसले असंवैधानिकरुपमा सरकार गठन नगर्न प्रदेश प्रमुखसमक्ष आइतबार (चैत २५) मा अनुरोध गरेको थियो । प्रदेश प्रमुखले अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरे । सोही दिन पद तथा गोपनियताको शपथ लिएका अधिकारीले पदभार गरे । अधिकारीले तीन सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् भने, आइतबार नै मन्त्रिपरिषद्को पहिलो वैठक बसेको थियो ।

६० सदस्यीय प्रदेश सभामा सरकार बनाउनको लागि ३१ सांसदको आवश्यकता पर्दछ । एमालेको २२, माओवादीको ८ र स्वतन्त्र सांसदको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर बुझाइएको थियो । २७ सीटले काँग्रेस संसदको सवैभन्दा ठूलो दल हो । दुई सदस्यीय रहेको राप्रपाको मंगलबार जनप्रर्दशन रहेकाले सरकारमा जाने या नजाने भन्ने निर्णय गरेको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *